भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेज (युसिएमएस) का नर्सिङ तथा प्यारामेडिक्सले विगत दुई सातादेखि गर्दै आएको आन्दोलन टुंगिएको छ।
नेपाल नर्सिङ संघले गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागलाई अनुसरण गर्दै युसिएमएसका नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीहरूले पनि कात्तिक २ गतेदेखि आन्दोलन सुरू गरेका थिए। 
नेपाल नर्सिङ संघले स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागमा थप गरी यहाँका नर्सिङ तथा प्यारामेडिक्सहरूले मेडिकल कलेज प्रशासनमा १२ बुँदे माग राख्दै कात्तिक २ गतेदेखि आन्दोलन सुरू गरेका थिए। 
देशभर आन्दोलनरत नर्स र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच निजी अस्पतालमा कार्यरत नर्स लगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह मासिक तलब सुविधा दिने सहमति भएपछि युसिएमएसमा कार्यरत नर्स तथा प्यारामेडिक्सहरूले पनि आन्दोलन टुंग्याएका हुन्। 
यहाँका नर्सिङ तथा प्यारामेडिक्सले राखेका ११ वटा माग भने युसिएमएस प्रशासनले यसअघि नै पूरा गर्ने सहमति गरेको थियो। तर सरकारी सरह तलब सुविधा दिने विषयमा यसअघि सहमति नजुटेपछि आन्दोलन जारी राखेका थिए। 
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले अस्पतालका नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले गरेको आन्दोलन टुङ्गिएको र सबै सेवा सुरू भएको जानकारी दिए।
अस्पतालका प्रमुख वित्तीय अधिकृत सुरज पौडेलले पनि स्वास्थ्य सचिवको संयोजकत्वमा मन्त्रालयद्वारा गठित कार्यदलले मन्त्रालयमा बुझाएको प्रतिवेदनलाई नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइपछि आन्दोलन टुङ्गिएको बताए। यससँगै अस्पतालका सबै सेवा पूर्ववत् रूपमा सुरू भएका छन्। 
पौडेलले आन्दोलनरत सबै पक्षसँग बसेर छलफल गरेपछि आन्दोलनरत सबै नर्स तथा कर्मचारी आआफ्नो कार्यक्षेत्रमा फर्किएको बताए।
आन्दोलन सुरू हुनु अघिदेखि नै आपसी छलफल र वार्ताको माध्यमबाट समस्या टुङ्ग्याउनका लागि नर्स तथा प्यारामेडिक्सहरूले अस्पताल प्रशासनलाई पटक पटक माग पत्र पेस गरे पनि अस्पताल व्यवस्थापन पक्षले बेवास्ता गर्दा सहमति जुट्न सकेको थिएन।
आन्दोलनरत पक्षले असोज ३१ देखि कात्तिक ९ गतेसम्म चार पटक अस्पताल व्यवस्थापन पक्षसँग माग पेस गरेका थिए। नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले गरेको आन्दोलनलाई फार्मेसी र ल्याबमा कार्यरत कर्मचारीले पनि समर्थन गर्दै ऐक्यबद्धता जनाएका थिए।
आन्दोलन टुङ्गिएपछि अस्पतालका सबै सेवा सुरू भएका छन् भने बिरामीले पनि सहज सेवा पाउन थालेका छन्।
अस्पतालमा दैनिक ८ देखि ९ सयसम्मको सङ्ख्यामा बिरामी ओपिडीमा र इमर्जेन्सीमा ५० को हाराहारी सङ्ख्यामा उपचारका लागि आउने गर्छन्। दैनिक सरदर २० जनाको प्रसूतितर्फ र सरदर २५ को सङ्ख्यामा अन्य शल्यक्रिया हुने गर्छ। यहाँ करिब २ सय ५० जना नर्स र प्यारामेडिक्स कर्मचारी कार्यरत छन्।