दुई सय ३० भन्दा बढी मानिसको ज्यान लिने गरी अचानक आएको बाढीको बेला एक पत्रकारसँग लामो समयसम्म खाना खाएर बसेका स्पेनका प्रान्तीय सरकार प्रमुख कार्लोस माजोनले सोमबार राजीनामा दिएका छन्।
एक वर्षअघि अक्टोबर २९ मा भ्यालेन्सिया प्रान्तमा अचानक आएको सो बाढीको बेला माजोन पत्रकार मरिबेल भिलाप्लानासँग एक रेस्टुराँमा झण्डै चार घण्टा खाना खाएर बसेका थिए।
भिलाप्लाना सो विपदका बेला सरकारको सुस्त प्रतिक्रियाको अनुसन्धान गरिरहेका न्यायाधीशसमक्ष बयानका लागि उपस्थित हुनुअघि माजोनले राजीनामा दिएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
केही दिनअघि एक सरकारी कार्यक्रममा बाढी पीडितका आफन्तहरूले हत्यारा भन्दै माजोनलाई गाली पनि गरेका थिए।
सो बाढी आएदेखि नै धेरैले माजोनको राजीनामा माग गरिरहेका थिए। तर उनले एक वर्षपछि मात्रै राजीनामा दिएका छन्।
'यदि मेरो बसमा हुन्थ्यो भने, मैले धेरै पहिले नै राजीनामा दिने थिएँ। म अब सहन सक्दिनँ... सायद मेरो बहिर्गमनले यो त्रासदीलाई यसले आवश्यक पर्ने वस्तुनिष्ठताका साथ हेर्न सहयोग गर्नेछ,' उनले भने।
स्पेनी मिडियाले गरेको अनुसन्धान अनुसार बाढीका कारण कम्तीमा १५६ जनाको मृत्यु भइसकेपछि मात्रै भ्यालेन्सिया सरकारले मोबाइल फोनमा पहिलो आपतकालीन सन्देश पठाएको थियो।
मुसलधारे वर्षापछि अचानक आएको बाढीको बेला माजोनसँग आफूले खाना खाइरहेको खुलासा भएपछि आफूलाई लगातार अपमान र उपहास गरिएको भिलाप्लानाले बताउँदै आएकी थिइन्।
सेप्टेम्बरमा भिलाप्लानाले एक खुलापत्र लेख्दै खानाको समयमा माजोनलाई धेरै फोन आउन थालेको तर त्यसबारे आफूलाई थाहा नभएको र माजोनले पनि आफूसँग कुनै चिन्ता व्यक्त नगरेको बताएकी थिइन्।
सोमबार राजीनामापछि जारी गरेको एक विज्ञप्तिमा माजोनले त्यसदिन आफ्नो कार्यतालिका रद्द गर्ने राजनीतिक दूरदर्शिता देखाउनुपर्थ्यो भनेका छन्।
'मलाई थाहा छ मैले गल्ती गरेँ। म त्यसलाई स्वीकार गर्छु र म जीवनभर त्यसका साथ बाँचिरहनेछु।'
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)