चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
गए राति १२ बजेतिर खैरहनी-८ चैनपुर चोकनजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३ -००२ ख ०७९९ नम्बरको कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६-००५ प ७७६८ नम्बरको को मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलका चालक चितवनको राप्ती-७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र मोटरसाइकलमा सवार राप्ती-५ की २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
उनीहरूको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
कन्टेनर, मोटरसाइकल र कन्टेनर चालक सर्लाहीको बरथवा नगरपालिका-१७ बस्ने २७ वर्षीय धनेलाल शाह प्रहरीको नियन्त्रणमा छन्।