प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारीलाई दुई लाख रुपैयाँसम्म आकस्मिक सहुलियत ऋण प्रदान गर्ने निर्णय गरेका छन्।
बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने निर्णय गरेको हो।
यो सुविधा प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक सम्मका प्रहरी कर्मचारी र तिनका आश्रित परिवारहरूलाई हुनेछ।
आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्न किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ प्रतिशत ब्याजदरमा २ लाख रूपैयाँसम्म उपलब्ध गराउने निर्णय भएको हो।
साथै, उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँ सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो।