कपिलवस्तु प्रहरीले बिल विजकभन्दा धेरै परिमाणमा सामान लोड गरी ल्याउने सवारी साधन र चालकहरूलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार भारतीय नम्बर प्लेटका तीन वटा टेलरमा बिल विजकभन्दा बढी मूल्य र परिमाणका सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बिहीबार राति १० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ बाट बिल विजकभन्दा धेरै सामान सहित तीन वटा टेलर नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार इलाका प्रहरी कार्यालय पकडीबाट खटिएका प्रहरी टोलीले युपी ५१ बिटी ३९३२, एचआर ६९ ई ९०३९, र एचआर ५८ बि ८६८७ नम्बरको भारतीय गाडीहरू चेकजाँच गर्दा बिल विजकभन्दा बढीका सामान फेला परेका हुन्।
प्रहरीले तीन वटा गाडीबाट ४२ हजार २२० केजी कुखुराको दाना, ४२ हजार केजी बासमती चामल र ४२ हजार केजी सोया डक बरामद गरेको जनाएको छ।
बरामद भएका सामानहरूको बजार मूल्य १ करोड ५ लाख १४ हजार रुपैयाँ बराबर छ।
प्रहरीले चालकहरू भारतीय नागरिक सुभाष बर्मा, शिवशंकर र अशोल सहित बरामद गरिएका सामान र टेलरलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको जनाएको छ।