विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ।
पोल्यान्डका १३ जना बाइक राइडरलाई नेपालमा खाना, बस्न र अन्य सपोर्टका लागि प्याकेज दिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका व्यक्तिलाई पक्राउ गरेको एसपी दीपकराज अवस्थीले जानकारी दिए।
अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिंजालीलाई प्रहरीले पक्राउ गरेको हो। उनी सुर्खेत बराह तालका हुन्।
विदेशी नागरिकहरूले नेपाल घुम्नका लागि उक्त कम्पनीमा सामाजिक सञ्जालमार्फत सम्पर्क गरेका थिए।
यसरी सम्पर्क गर्दा कम्पनीले राइडका लागि मोटरसाइकलको व्यवस्था गरिदिने भनेर मेसेन्जरमा कुराकानी गरेका थिए।
१३ जनाको लागि विभिन्न व्यवस्था गर्ने बाचा कम्पनीले गर्यो। तर सात दिनमा ३० प्रतिशत रकम लिएर सम्पर्कविहीन भएको आरोप छ।
यसरी ठगिएपछि पोल्यान्डका नागरिकले ब्युरोमा निवेदन दिएका थिए। यसको अनुसन्धान गरी प्रहरीले सिंजालीलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।