बीबीसीले एक वृत्तचित्रमा भाषण पूर्वाग्रहपूर्ण सम्पादन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको छ। तर सो प्रकरणमा मानहानिको मुद्दा चलाउने आधार नभएको बीबीसीले जिकिर गरेको छ।
गत नोभेम्बरको राष्ट्रपतीय निर्वाचनअघि प्रसारण भएको बीबीसीको 'प्यानोरमा' कार्यक्रममा ट्रम्पले सन् २०२१ जनवरीमा निर्वाचन परिणाम उल्टाउने प्रयासका क्रममा गरेको भाषणलाई पूर्वाग्रहपूर्ण सम्पादन गरेको आरोप लागेपछि यसै हप्ता बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखले राजीनामा दिएका थिए।
ट्रम्पको कानुनी टोलीले यस हप्ताको सुरूमा बीबीसीलाई एउटा पत्र पठाएर २०२४ को सो वृत्तचित्रबाट राष्ट्रपतिबारे 'झूटा, मानहानिकारक, अपमानजनक, र भड्काउ भनाइहरूलाई शुक्रबारसम्म फिर्ता लिन माग गरेको थियो। अन्यथा एक अर्ब डलरको मुद्दा सामना गर्नुपर्ने चेतावनी दिएको थियो।
बीबीसीले सो प्रकरणमा बिहीबार एक विज्ञप्ति निकाल्दै आफ्ना अध्यक्ष समीर शाहले उक्त सम्पादनका लागि माफी माग्दै ह्वाइट हाउसलाई व्यक्तिगत पत्र पठाएको र उक्त कार्यक्रमलाई बीबीसीले पुनः प्रसारण गर्ने कुनै योजना नभएको बताएको छ।
'भिडिओ क्लिपलाई सम्पादन गरिएको तरिकाप्रति बीबीसीले साँच्चै दुःख व्यक्त गर्दछ, तर हामी मानहानिको दाबीका लागि आधार छ भन्ने कुरासँग घोर असहमत छौं,' सो विज्ञप्तिले जोड दिएको छ।
पूर्वाग्रहपूर्ण सम्पादनबारे चर्चा गरेको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले भर्खरै प्रकाशित गरेपछि सो कुरा सार्वजनिक भएको थियो।
सो परिपत्रमा प्यानोरमा कार्यक्रमले 'तत्कालीन राष्ट्रपति ट्रम्पको भाषणका दुई भागमा भएको सम्पादनले उनले जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगा गर्न उक्साएको जस्तो देखाएको' उल्लेख छ।
'हामी क्यापिटलतिर (अमेरिकी संसद) जानेछौं अनि हाम्रा साहसी सिनेटरहरू र कङ्ग्रेसमेन र वुमनहरूको उत्साह बढाउने छौं,' ट्रम्पले २०२१, जनवरी ६ को भाषणमा भनेका थिए, 'तपाईंहरूको आवाज शान्तिपूर्ण र देशभक्तिपूर्ण रूपले सुनिने बनाउन म पनि सँगै जानेछु।'
सोही भाषणमा त्यसको लगभग ५० मिनेटपछि ट्रम्पले 'अनि हामीहरू पूरै तागत लगाएर लड्नेछौं' पनि भनेका थिए।
तर मतदानको आठ दिन अघि प्यानोरमाले ट्रम्पको भाषण सम्पादन गरेर उनले 'हामी क्यापिटलतिर जानेछौँ.... अनि त्यहाँ म तपाईंहरूसँगै हुनेछु। अनि हामीहरू पूरै तागत लगाएर लड्नेछौं,' भनेर देखाएको थियो।
त्यस्तो पूर्वाग्रहपूर्ण सम्पादनबारे बीबीसीकै एक आन्तरिक परिपत्रले चर्चा गरेको सार्वजनिक भएपछि ह्वाइट हाउसले बीबीसीलाई 'शत प्रतिशत फेक न्यूज' को संज्ञा दिएको छ।
त्यसपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)