सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको द्विपक्षीय नवौं समन्वयात्मक बैठक सम्पन्न भएको छ।
कात्तिक २६ देखि २८ गतेसम्म नयाँ दिल्लीमा दुई सुरक्षा निकायबीच समन्वयात्मक बैठक सम्पन्न भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपालबाट आइजिपी राजु अर्याल नेतृत्वको टोली उक्त बैठकमा भाग लिन कात्तिक २५ गते दिल्ली प्रस्थान गरेका थिए। बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक संजय सिंघलले नेतृत्व गरेका थिए।
बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल भएको थियो।
२०८१ मंसिरमा काठमाडौंमा सम्पन्न भएको आठौं समन्वयात्मक बैठकबाट पारित एजेण्डाका विषयमा समेत समीक्षा भएको थियो। बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो।
उक्त बैठकमा भाग लिन आइजिपी अर्यालसँगै सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार र सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल गएका थिए।
बैठक समापन पछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल शनिबार काठमाडौं फर्किएका छन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।