धनुषामा वडाध्यक्षको गोली हानेर हत्या गरिएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको हत्या गरिएको घटनामा चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिए।
शुक्रबार साँझ पौने ७ बजेतिर दुखी यादव भन्ने व्यक्तिको मृत्यु संस्कारको १० दिन पुगेको थियो। त्यहाँ भोज ढिलो गरी सुरू भएको विषयमा विवाद सुरू भएको हो।
दुई पक्षबीच विवाद भई झगडा सुरू हुँदा जिल्ला प्रहरी कार्यालय सप्तरा कार्यरत सहायक हवल्दार शम्भुकुमार यादवले कटुवा पेस्तोलले वडाध्यक्ष विन्देश्वरको छातीमा गोली प्रहार गरेको आरोप छ।
गोली हानेर घाइते भएका विन्देश्वरको उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले सहायक हवल्दार शम्भु यादव, धर्मनाथ यादव, पप्पु यादव र मनोजकुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भइसकेको छ।