काठमाडौंको बसपार्कमा मृत फेला परेकी युवतीको शव ९ दिनअघि नै हत्या भएको खुलेको छ।
शनिबार बिहान टोखा नगरपालिका-९ स्थित बसपार्क नजिकै सडक छेउमा पोको पारिएको अवस्थामा शव फेला परेको थियो। मृतक माया भन्ने आयुषा मगर हुन्।
उनको हत्या भने कात्तिक २६ गते मध्यराति नै भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मायाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने २४ वर्षीय सूर्य थापा मगर छन्।
उनी एक होटलका कुक हुन्।
मायाको हत्या एक साता भन्दा अगाडि नै भए पनि शनिबार बिहानीपख मात्रै गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।
‘शवको गन्ध नआओस् भनेर पहिले प्लास्टिकमा, फेरि तन्ना र फेरि प्लास्टिकले पोको पारेको देखियो,’ एसपी भट्टराईले भने।
मृतकको शरीरमा बेरिएको तन्नामा रहेको ट्याग १४५५ नम्बर उल्लेख गरेको थियो। प्रहरीले अनुसन्धान गर्दै जाँदा सूर्य थापा मगरसम्म प्रहरी पुगेको हो।
अनुसन्धानको क्रममा होटल रोयल कुन्डलाको स्टाफ रूममा रहेको तन्नाको रंग र तकियाको खोलमा रहेको १४५५ नम्बरकै ट्याग फेला परेको थियो। तर यस घटनाबारे भने साहु र म्यानेजर बेखबर थिए।
मृतक मायाकी साथी डोल्मा बमजन र सूर्य कात्तिक २५ गते उक्त होटलमा पुगेका थिए।
त्यस होटलको टपमा एउटा स्टाफ रूम छ। त्यहाँ गफ गर्ने विषयमा मृतक मायाले सूर्यसँग ५०० रुपैयाँ मागेकी थिइन्। माया लागुऔषध सेवनकर्ता थिइन्। ब्राउन सुगर किन्न मायाले सूर्यसँग ५०० रुपैयाँ लिएकी थिइन्। सूर्य भने अत्यधिक मापसे गर्थे।
ब्राउन सुगर किनेर फर्केपछि सूर्यले आफ्नो पैसा फिर्ता मागेका थिए। फिर्ता माग्दा मायाले ‘तेरो पैसा दिन्नँ’ भनेपछि दुई जनाबीच विवाद भएको थियो।
आवेगमा आएका सूर्यले जुत्ताको तुनाले घाँटीमा बेरेर हत्या गरेको आरोप छ। हत्या गरेपछि उनले दुई पटक मुक्का समेत प्रहार गरेका थिए।
कात्तिक २६ बिहान १: ५२ बजे मृतकको शव बोकेर लगेको होटलको सिसिटिभी फुटेजमा समेत देखिएको छ।
यसबारे सूर्यले पनि स्वीकार गरेका छन्।