विशेष अदालतले भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य जाँच गराउन आदेश दिएको छ।
दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगान नरहेको निवेदन परेपछि अदालतले उनको स्वास्थ्य जाँच गराई प्रतिवेदन पेस गर्न आदेश दिएको हो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराएर प्रतिवेदनसाथ पेस गर्न भनेको हो।
महतकी श्रीमती रोशनीले आफ्ना श्रीमान फ्रोन्टोटेम्परल डिमेन्सियाको रोगबाट पीडित भएकाले मुद्दाको प्रतिरक्षा समेत गर्न नसक्ने अवस्था रहेको हुँदा मुलतवीमा राख्न माग गर्दै निवेदन दिएकी थिइन्।
उनले उपचारका कागजातहरू समेत अदालतमा पेस गरेकी थिइन्।
कानुनले पनि होस ठेगानमा नरहेका व्यक्तिको कारबाही सम्बन्धमा आफ्नो प्रतिरक्षा गर्न नसक्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा इजाजत प्राप्त चिकित्सकले त्यस्तो व्यक्तिको जाँच गराएर आदेश दिन सक्ने उल्लेख छ।
प्रतिरक्षा गर्न असमर्थ देखिएमा आदेश पर्चा खडा गरी मुलतवीमा राख्नुपर्ने व्यवस्था छ।
महतमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोग छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५६ जनाविरूद्ध मंसिर २२ गते मुद्दा दायर गरेको थियो।
विशेष अदालतमा दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको थियो।
* यसअघि अन्यथा भएकामा सच्याइएको छ।
सम्बन्धित समाचार- विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा?