रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।
थवाङ गाउँपालिका–१ सल्यानमा लु१ ज ४१६७ नम्बरको जिप झन्डै आठ सय मिटरमुनि खसेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।
जिप रूकुमबाट थवाङ जलजलातर्फ पूजाका लागि जाँदै थियो। कच्ची सडकखण्डमा बाटोदेखि जिप ८०० मिटर तल जिप खस्न पुगेको प्रहरीले जनाए पनि त्यसमा कति जना सवार थिए भन्ने खुलेको छैन।
अप्ठ्यारो भूगोलका साथै पानी परिरहेको हुँदा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
जिप दिउँसो करिब ३ बजेतिर दुर्घटनामा परेको थियो। प्रहरीले घाइतेको अवस्था र घटनाबारे थप केही विवरण दिएको छैन।
तर, थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले भने १८ जनाको मृत्यु भएको भन्ने आफूले सूचना पाएको बताए।
‘मलाई वडा नम्बर १ का वडाध्यक्ष हिराप्रसाद बुढा मगरले फोन सम्पर्क गरी अठार जनाको मृत्यु भएको सूचना दिनु भएको हो,’ उनले भने, ‘अहिले म पनि घटनास्थलतर्फ जाँदैछु।’
अध्यक्ष मगरका अनुसार जलजलामा वैशाख पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ। सोही मेलाका लागि भनेर रूकुम पूर्वबाट आइरहेका व्यक्तिहरू दुर्घटनामा परेका हुन्।