मालपोत कार्यालय तुलसीपुर बाट दुई जना सेवाग्राहीसहित आठ जना लेखापढी व्यावसायी पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले आइतबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
लेखापढी व्यवसायी संघका प्रमोद अधिकारी, दण्डीराम बस्नेत, प्रदीपकुमार रेग्मी, शेवकराम आचार्य, भिमकान्त लामिछाने, रामबहादुर चौधरी र अरुण चौधरीलाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै सेवाग्राहीहरु पदम बस्नेत र संगीता नेपालीलाई पनि नियन्त्रणमा लिएर इप्रका पुर्याइएको छ। बस्नेत जग्गा खरिदकर्ता हुन् भने नेपाली जग्गा बेच्न आएकी सेवाग्राही हुन्।
इप्रका तुलसीपुरले भने पक्राउ परेका ब्यक्तिबारे आधिकारिक रुपमा जानकारी दिएको छैन।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले भने माथिको आदेशअनुरुप बिचौलियाको भूमिका खेलेको आशंकामा सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिनु परेको बताए ।
‘हामीलाई केन्द्रबाटै यसबारे परिपत्र आएको छ,’ बस्नेतले भने ‘ माथिको आदेश पालना गर्न हामीले आशंका लागेका ब्यक्तिहरु नियन्त्रणमा लिएर सोधपुछ गर्दैछौं ।’
मलपोत कार्यालय घोराहीबाट शुक्रबार दुई जनालाई नियन्त्रणमा लिइएको भए पनि सोधपुछ गरी छोडिएको थियो । लेखापढी गर्नका लागि लाइसेन्स प्राप्त व्यक्तिबाहेक अरुले त्यो काम गर्न नपाउने केन्द्रको आदेश अनुरुप उनीहरुको लाइसेन्स छ कि नाइ ? त्यो अनुसन्धानका लागि नियन्त्रणमा लिनु परेको बस्नेतले बताए ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुसँग अहिले सोधपुछ गरिरहेको छ । उनीहरुले आफूहरुसँग लाइसेन्स माग गरिएको र आफूहरु सबै संग लेखापढी संघको लाइसेन्स उपलब्ध रहेको उनीहरुको दाबी छ ।
‘हामीलाई अनावश्यक दुःख दिन खेल हो जस्तो लाग्छ,’ प्रहरी नियन्त्रणमा रहेका एक जनाले फोनमा भने, ‘म त शौचालय गएको थिए। शौचालय नै मालपोत कार्यालयको गेट भित्र छ। शौचालयबाट बाहिर निस्कदै गर्दा मलाई एकाएक नियन्त्रणमा लिएर इप्रका ल्याइएको छ।’
अर्का एक जनाले आफूहरुसँग लेखापढी संघको प्रमाण हुँदा हुँदै सोधपुछ नै नगरी बलजफती उठाएर ल्याइएको भन्दै त्यसको विरोध गरे ।
‘प्रहरीको यो शैली गलत हो,’ उनले भने, ‘यो एक प्रकारको राज्य आतंक हो।’
सेवाग्राहीलाई सिकाउन गएका लेखा व्यवसायीलाई हचुवाको भरमा नियन्त्रणमा लिने र प्रहरीमा पुर्याउने प्रवृत्तिलाई सही मान्न नसकिने उनले बताए।
अर्का एक जना लेखा पढी संघका सदस्यले राज्यले सही र गलत छुट्याउन प्रयास गरेको भएपनि बुझेर मात्रै गरेको भए राम्रो हुने बताए ।
‘को कस्तो हो भन्ने कुरा बुझेर नियन्त्रणमा लिनुपर्यो,’ उनले भने ‘ हचुवाको भरमा र त्यो पनि सेवाग्राहीलाई सिकाउन गएका व्यक्तिलाई एकाएक उठाउनु न्यायोचित होइन।’
आइतबार नै प्रहरीले मालपोत तथा नापी कार्यालय बाट बिचौलियाको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार मालपोत कार्यालय लमहीबाट पाँच जना र नापी कार्यालय लमहीबाट एक जना गरी ६ जना लेखापढी व्यावसायीलाई बिचौलियाको आरोपमा नियन्त्रणमा लिइएको हो।