रोल्पामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
आइतबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। थप तीन जना घाइते छन्।
दुर्घटनामा परी रा ३ प १०१७ नम्बरको मोटरसाइकल चालक जिल्लाको सुनिल स्मृति गाउँपालिका– २ महेन्द्रीका २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो।
उनको प्राथमिक स्वास्थ केन्द्र सुलीचौर रोल्पामा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा परी रा ६ प ५५२७ नम्बरको मोटरसाइकल चालक सुनिलस्मृति – २ माडीचौरका १८ वर्षीय साइमन सेन ठकुरी, पछाडि सवार सोही ठाउँकै १८ वर्षीय अर्पण शाह ठकुरी र सोही वडाको खुंग्रीका १६ वर्षीय हिमाल चन्द ठकुरी घाइते छन्।
घाइतेमध्य साइमन र अर्पनको अवस्था गम्भीर छ।
उनीहरु दुबै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। हिमाललको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक थापा नेपालीले बताए ।
आइतबार बिहान करिब ८ बजेतिर रोल्पाको सुनिलस्मृति गाउँपालिका – २ भालुबाङ सुलीचौर सडकखण्डमा एक्लेपिपल स्थित खुंग्रीबाट सुलीचौर तर्फ जाँदै गरेको साइमन सेन ठकुरीले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको मेतक मनोज मरमथानीले चलाएको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै शनिबार बेलुकी रोल्पामा भएको ट्रयाक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका– ४ भागरेका २१ वर्षीय सामिल विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेपालीले बताए ।
शनिबार बेलुकी साढे ६ बजेतिर जिल्लाको थवाङ गाँउपलिका – १ रिखोलामा झकेवाङदेखि थवाङ बजार तर्फ जाँदै गरेको रा १ त ३८३४ नम्बरको पानी बोक्ने ट्याक्टर अनियन्त्रित भई बाटोदेखि ५० मिटर तल खसेको थियो ।
ट्रयाक्टरमा सवार दुई जना मध्य एक जनाको अवस्था भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै शनिबार बेलुकी साढे ५ बजेतिर रोल्पामै भएको अर्कौ एक दुर्घटनामा परी एक युवक घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक रोल्पाको लुङ्ग्री गाउँपालिका– २ शेर्पाका १८ वर्षीय गणेश जिसी घाइते भएका छन्। उनको उपचार जारी छ।
जिल्लाको सुनिलस्मृति गाउँपालिका –४ स्थित सुलीचौर – रुइनिवाङ पक्की सडक खण्डमा सुलिचौर बाट रुइनिबाङ तर्फ जाँदै गरेको रा १ ख १९०५ नम्बरको बाटोको साइडमा रोकेर राखेको टिप्परमा बा २१ प ६८७७ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको थियो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार टिप्पर चालक प्युठानको प्यूठान नगरपालिका –३ विजयनगरका ४३ बर्षीय वीरबहादुर कुमाल प्रहरी नियन्त्रणमा छन्।