दुई पक्षको झडप नियन्त्रणमा लिने क्रममा घाइते भएका कपिलवस्तुका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको महाराजगंज नगरपालिका–६ भुटनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचार क्रममा सोमबार मृत्यु भएको हो।
चैत्र ७ गते महाराजगंजको वरगदा गाउँमा हिन्दु र मुस्लिम बीच झडपका क्रममा स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको आक्रमणका परि उनी घाइते भएका थिए।
मृतक यादवका आफन्तले प्रहरीले चलाएको गोली यादवको पेटमा लागेको र सोही कारण उपचारका क्रममा मृत्यु भएको दाबी गरेका छन्।
तर, कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले गोली लागेको कुरामा सत्यता नभएको बताए।
'चैत ७ गते निषेधाज्ञाका बीच दुई समुहका बीचमा भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले आक्रमणबाट यादव घाइते भएका थिए,’ डिएसपी सिंहले भने ' गोली लागेको होइन, मृतकको शरीरमा गोली लागेको घाउ भेटिएको पनि छैन।’
डिएसपी सिंहका अनुसार त्यो दिन दुई समूहबीच झडपले उग्र रुप लिएपछि स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि नै निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाकै बीचमा थप झडप हुन थालेपछि चैत ७ गते बेलुकीपख प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा यादव घाइते भएको डिएसपी सिंहले बताए ।
घाइते यादवलाई भैरहवा मेडिकल कलेजको उपचारपछि थप उपचारका लागि चितवन मेडकल कलेजमा पुर्याइएको थियो ।
यादवको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको खबर आएको डिएसपी सिंहले बताए।
‘घाइतेको उपचारमा कुनै लापरबाही वा कमजोरी गरिएको थिएन,’ डिएसपी सिंहले भने ।
हिन्दु र मुस्लिम समुदायबीचको लफडाका कारण कपिलवस्तुमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा चैत १० गते बिहान ९ बजेपछि मात्रै हटेको थियो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार त्यो बेला महाराजगन्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव नियन्त्रणमा लिन त्यो बेला निषेधाज्ञा लगाउनु परेको थियो।
त्यो झडपमा परी प्रदर्शनकारी र सुरक्षाकर्मी गरी झन्डै २० जना घाइते भएका थिए।
महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा विवाद उत्पन्न भएको थियो।