एक करोड २० लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाका ५१ वर्षीय जीवनकुमार ठाकुर र उनका २७ वर्षीय छोरा निहाल ठाकुर छन्।
न्युरोडमा स्वर्ण संसार सुनचाँदी पसलमा जीवन कुमारले १५ वर्षदेखि आफ्नो छोरा निहालको नाममा दर्ता गरी सञ्चालन गर्दै आएका छन्।
पछिल्लो ८ महिनादेखि भने उनीहरूले पीडितहरूलाई ठगेर सम्पर्कविहीन भएको एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
उनीहरूले टिकटकमा पुरानो सुनचाँदीको गरगहना सस्तो दरमा बनाइदिने भनेर प्रचारप्रसार गरेका थिए। त्यस्तै, पुराना गरगहनालाई साटफेर गरी छुट रकममा नयाँ लिएर जान सक्ने जस्ता अफरहरू बनाएर गरगहना तथा रक लिएर ठगी गर्ने गरेको आरोप छ।
यसरी उनीहरूले एक करोड २० लाख ९२ हजार ९६७ रुपैयाँको ठगेको आरोप छ।
ठाकुरविरूद्ध प्रहरी वृत्त जनसेवा, ललितपुर परिसरमा बैंकिङ कसुर र ठगी लगायतका कसुरमा मुद्दा छन्।