रूपन्देहीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
सोमबार राति रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दले जानकारी दिए।
पक्राउ पर्नेमा भारतको महाराजगंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय छन्। रोहिणी–२ खुरूहुरियाका विशाल यादव पनि पक्राउ परेका छन्।
उनीहरूबाट प्रहरीले ३३ सय एम्पुल लागुऔषध बरामद गरेको हो।
कोटहवामा लागुऔषध कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो।
चेकप्वाइन्ट खडा गरिएको ठाउँमा प्रहरीले युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो। तर नरोकिई उक्त मोटरसाइकल भाग्ने क्रममा अचानक लडेको डिएसपी चन्दले बताए।
प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोप छ।
यस क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन्।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको डिएसपी चन्दले बताए।
ढुंगा प्रहार गरी भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले घुँडामा गोली प्रहार गरेको बताएको छ। गोली लागेर विशाल घाइते भएका हुन्।
उनलाई प्रहरीले उपचारका लागि भीम अस्पताल पठाएको छ।