कपिलवस्तु प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेको भन्दै गाउँपालिका उपाध्यक्षलाई नियन्त्रणमा लिएको छ।
शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीले ड्युटीमा खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवलदार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले शुद्धोदन गाउँपालिकाको वडा नं. ५ शिवलवा दोहनी चेकपोस्टमा ड्युटी गरिरहेका चौधरीमाथि हातपात गरेका थिए। सोही कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए।
भारतीय सीमावर्ती बजारबाट सामान ल्याउने विषयलाई लिएर विवाद बढ्दै गएपछि उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि सोमबार दिउँसो हातपात गरेको स्थानीयको भनाई छ।
सरकारी गाडी चढेर चेकपोस्ट पुगेका उपाध्यक्ष चौधरीले सशस्त्र प्रहरी चौधरीमाथि हातपात गरेको भिडियो समेत सार्वजनिक भएको छ। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चासो दिएर उपाध्यक्ष होम प्रकाशलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका उपाध्यक्ष होम प्रकाशमाथि प्रचलित कानुन बमोजिम मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सिंहले बताए।