रूपन्देहीको मायादेवी गाउँपालिका वडा नंं ४ स्थित सुण्डी माध्यमिक विद्यालयले उत्कृष्ट हुने विद्यार्थीहरूलाई भैँसी पुरस्कार दिने गरेको छ।
सामान्यतया उत्कृष्ट हुने विद्यार्थीले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने गरेकोमा सुण्डी माविले भने पुरस्कारको परम्परागत शैलीलाई तोड्दै जीवन उपयोगी अभ्यास सुरू गरेको हो।
विद्यालयले हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्छ। प्रतियोगितामा विद्यार्थीहरूले समूहगत रूपमा प्रतिस्पर्धा गर्छन्। सोही प्रतियोगितामा उत्कृष्ट हुने पहिलो र दोस्रो समूहका विद्यार्थीलाई पुरस्कार स्वरूप भैँसी प्रदान गरिन्छ।
प्रतियोगितामा तेस्रो र अन्य स्थान हासिल गर्ने विद्यार्थीहरूलाई भने नगद पुरस्कार दिने गरिन्छ। यही प्रतियोगिता अन्तर्गत सहभागी भई पहिलो र दोस्रो भएको समूहका विद्यार्थीहरूलाई हालसम्म विद्यालयले ५१ वटा भैँसी प्रदान गरिसकेको छ। हालसम्म छैटौं पटक प्रतियोगिता सञ्चालन गरेकोमा यसै वर्ष पनि १० जना विद्यार्थीलाई एक एक वटा भैँसी प्रदान गरिएको हो।
भैँसी पुरस्कारको यो व्यवस्था दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनको संस्थाले सहयोग गर्दै आएको छ। उम् होङ गिल यहीँ पुरस्कार वितरण गर्न हरेक वर्ष दक्षिण कोरियाबाट आफ्ना सहयोगी सहित रूपन्देही आउने गरेका छन्। यस पटक पनि उम् होङ गिल र उनका सहयोगीहरूको उपस्थितिमा प्रतियोगितामा प्रथम र दोस्रो हुने समूहका विद्यार्थीहरूलाई भैँसी वितरण गरिएको हो।
कक्षा ११ मा अध्ययनरत शिव कुमार यादवले प्रतियोगितामा प्रथम भई भैँसी पुरस्कार पाएपछि खुसी लागेको बताए।
पुरस्कारको रूपमा प्राप्त गरेको भैँसी आफ्नो लागि केवल उपहार मात्र नभई उच्च शिक्षाका लागि खर्च जुटाउने एउटा भरपर्दो स्रोत बन्ने उनले बताए।
‘नगद पुरस्कारबाट केही किनौँ भने पनि एक पटकमा खर्च हुन्छ, यसरी पाएको भैँसी पाल्दै गएपछि नियमित आम्दानी हुन्छ। दूध दिने भएपछि खान पनि भयो, बिक्री गरेर पढाइ खर्च जुटाउन पनि भयो,’ भैँसी पाएकोमा शिवले खुसी हुँदै भने।
प्रतियोगितामा दोस्रो भएको समूहका अजय कहारले पनि पुरस्कारको रूपमा प्राप्त गरेको भैँसीले आफ्नो पढाइ खर्च जुटाउन सहयोग गर्ने बताए।
‘अहिले त सानै छ केही समय पालेपछि ब्याउने भई हाल्छ त्यसपछि त दूध बिक्री गरेर आम्दानीबाट मेरो पढाई खर्च जुटाउन सजिलो हुन्छ,’ भैँसी डोहोर्याएर घर जाँदै गरेका अजयले भने।
विद्यार्थी अजित कहारले पनि विद्यालयले दिने गरेको भैँसी पुरस्कार अनौठो लागे पनि यसले आफू जस्तै किसानका छोराछोरीलाई पढ्नुपर्छ भनेर प्रोत्साहन गरिरहेको बताए।
‘भैँसी पाइन्छ भनेपछि मेहनत पनि गरिन्छ, पुरस्कार पाएपछि भैँसीबाट दूध खाने, त्यसको गोबरलाई खेतमा हाल्ने गर्दा खेती पनि राम्रो हुन्छ। यस्तो पुरस्कार पाउँ बुवा आमा पनि खुसी हुने उनले बताए।
रूपन्देहीको दक्षिणी भेगका पालिकाका अधिकांश बासिन्दाको मुख्य पेसा नै कृषि र पशुपालन हो। गरिबिका कारण आफ्नो जग्गाजमिन र पशु चौपाया नहुने परिवारका बालबालिकाहरूलाई पढाइको खर्च जुटाउन नसकेपछि बिचमै पढाई छोड्नुपर्ने बाध्यता छ।
विद्यालयले हरेक वर्ष उत्कृष्ट हुने विद्यार्थीलाई भैँसी पुरस्कार दिन थालेपछि भने विद्यार्थीहरूले बिचमै पढाई छोड्ने क्रम हटेको र पढाई प्रति उनीहरूको ध्यान जान थालेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक केशव पौडेलले भैँसी पुरस्कार कार्यक्रमपछि विद्यार्थीहरूमा पढाइप्रति उत्साह बढेको बताए।
‘भैँसी पाउने आशाले विद्यार्थीले पढाइमा ध्यान दिन थालेका छन् भने विद्यालय छोड्ने दर पनि घटेको छ, अभिभावकहरूमा पनि छोराछोरीलाई विद्यालय पठाउनै पर्छ भन्ने सोचको विकास भएको छ,’ पौडेलले भने।
उम् होङ गिलले पनि आफूले सहयोग गरेको पुरस्कार उपयोगी भएको भन्दै खुसी व्यक्त गरे।
उनले शिक्षालाई जीवन र जीविकोपार्जनसँग जोड्न खोजेको बताए।