सुर्खेत प्रहरीले एक करोड बढी ठगी गरेको आरोपमा एक जना २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ परेका युवक दैलेखको भगवतीमाई गाउँपालिका–७ का २२ वर्षीय पवन विक हुन्।
विक पछिल्लो समय वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आएका थिए।
उनी मंगलबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए।
विक विरूद्ध जैसरा थापाले ठगी मुद्दामा किटानी जाहेरी दिएकी थिइन्।
विकले प्रहरी जवानको अन्तर्वार्ता तथा लिखित परीक्षामा उत्तीर्ण बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको पाइएको डिएसपी बुढथापाले बताए।
सामान्य परिवारका र पेसा व्यवसाय केही नगर्ने विकको खातामा करोड बढी रकम फेला परेको हुँदा उनले विभिन्न व्यक्तिबाट करोडौं ठगी गरेको तथ्य खुल्न आएको बुढथापाले जानकारी दिए।
एक जनाले मात्रै उनीविरूद्ध किटानी जाहेरी दिएको भए पनि अन्य ठगीमा परेका व्यक्तिहरूलाई पनि उजुरीको लागि आह्वान गरिएको डिएसपी बुढथापाले बताए।
पक्राउ गरेका विकमाथि ठगी मुद्दा चलाउने गरी अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।