चितवनको कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित फायरफक्स सिटीबीच सहकार्य अघि बढाउने सहमति भएको छ।
कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र फायरफक्स सिटीकी मेयर क्याथेरिन रिडले दुई निकायले दिगो सम्बन्ध विस्तार गर्ने सहमति गरेका हुन्।
मंगलबारको भेटमा मेयर क्याथेरिनले त्यहाँको प्रविधि र उच्चतम विकासको विषयमा जानकारी गराएकी थिइन्। कालिका नगरपालिकाका मेयर रेग्मीले नगरमा कार्यान्वयन हुँदै गरेको जिपिएस प्रणाली, फोहोर व्यवस्थापनको काम, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माणलगायतका कार्यक्रमहरु बारे जानकारी गराउँदै सहकार्यको प्रस्ताव राखेका थिए।
‘हामी दुई निकायकाबीचमा भएको छलफलले सहकार्यलाई अघि बढाएर सम्बन्ध विस्तार गर्दै जाने सहमति गरेको छ,’ रेग्मीले भने, ‘हामीले मेयर क्याथेरिन रिडलाई भ्रमणको निम्तो दिएका छौं।’
मेयर रेग्मीले अमेरिकाको स्थानीय तहले प्रयोग गर्दै आएका प्रविधि र उनीहरुले गरिरहेको उच्चतम विकासलाई कालिका नगरपालिकामा भित्र्याएर नगरपालिकालाई नमूना बनाउने लक्ष्य रहेको बताए।
कालिका नगरपालिकामा अमेरिकामा बस्दै आएका प्रा.डा.रामहरि सुवेदीको सहयोगमा जिपिएस प्रणाली सञ्चालनका लागि घर तथा सडकको नामाङ्कन गरिएको छ। गत जेठमा नगरपालिकाले जिपिएस प्रणालीमा आधारित घर नम्बर वितरण सुरू गरेको थियो। उक्त काम अहिले पनि जारी छ।