प्रहरीले उपभोक्ता ठगी गर्ने उद्देश्यले टालीको साइज घटाएका टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलले बुटवल र सैनामैनाका विभिन्न स्थानबाट टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उपभोक्तालाई ठग्ने उद्देश्यले टिपरको ढाला र ट्याक्टरको टालीको साइज घटाएका साधनहरू नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो।
खासगरी नदीजन्य पदार्थको ढुवानी गर्ने ती टिपर र ट्याक्टरहरूले तोकिएको मापदण्डमा निर्माण गरी यातायात व्यवस्था कार्यालयबाट दर्ता गरी सकेपछि नदीजन्य पदार्थ राख्ने ठाउँको साइज घटाउने उद्देश्यले च्यादर थप गरी उपभोक्ता ठगी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ((डिएसपी) निशान्त श्रीवास्तवले बताए।
डिएसपी श्रीवास्तवका अनुसार ग २ ख ०२१६, लु २ ख ३२८५, रा १ ख २२२३, लुम्बिनी प्रदेश ०१-००१०३८४ नम्बरका (हाईवा) टिप्पर तथा लु १ त ६८४२, लु ४ त ५८२७ र लु २ त ४८३४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
नियन्त्रणमा लिइएका प्रत्येक साधनमा ३० घन मिटर भन्दा बढी साइज घटाई उपभोक्ता ठगी गरेको प्रहरीको दाबी छ।