तिलोत्तमा नगरपालिका वडा नं ६ मणिग्राममा सञ्चालनमा रहेको सिएमजी क्यासिनोमा प्रहरीले बुधवार राति छापा मारेर ६ जना पक्राउ गरेको छ।
नेपाली युवाको ठूलो सङ्ख्या क्यासिनोमा प्रवेश गरी जुवा खेल्ने क्रम बढ्दै गएको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा कारबाही गरेको हो ।
छापा मार्ने क्रममा क्यासिनो भित्र जुवा खेलिरहेका ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा जुवा खेलाउने सर्लाही बरहथवा नगरपालिका वडा नं ८ बस्ने मुकेश कुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका वडा नं १५ बस्ने अजय के।सी छन् भने जुवा खेल्नेमा बुटवल १२ का गोविन्द शर्मा, बुटवल ९ का वासुदेव गौतम र कृष्ण गौतम र तिलोत्तमा नगरपालिका वडा नं ११ बस्ने चन्द्र प्रसाद श्रेष्ठ छन्।
प्रहरीले उनीहरूको साथबाट ७ गड्डी तास एक लाख पच्चिस हजार भारतीय रुपैयाँ बरावरको क्यासिनो क्वाईन तथा ३ हजार ५ सय भारतीय नोट र दुई लाख १७ हजार ३९० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले बताए।
चन्दका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।
नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार क्यासिनोमा विदेशी नागरिकलाई मात्र प्रवेश र जुवा खेल्न अनुमति भए पनि पछिल्लो समय नेपालीहरूको संलग्नता बढ्दै गएको सूचनाका आधारमा छापा मारेको सूचना अधिकारी चन्दले बताए।