पोखरामा एकल महिलाको हत्या गर्न भाञ्जा नाता पर्ने २७ वर्षीय शिशिर केसीले एक महिनादेखि योजना बनाएको बताएका छन्।
पोखरा– ५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेललाई बुधबार साँझ धारिलो हतियार प्रयोग गरी हत्या अभियोगमा पक्राउ परेका केसीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा एक महिनादेखि योजना बनाएर हत्या गरेको स्वीकारेका हुन्।
‘पारिवारिक बेमेल र झैझगडाले एक महिनादेखि नै एक दिन हत्या गर्छु भनेर योजना बनाएका रहेछन्, हामीसँगको प्रारम्भिक बयानमा हत्या गर्नकै लागि खुडा तयार राखेका बताएका छन्,’ कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने।
पर्वतको कुश्मा नगरपालिका– ६ घर भएका केसी पोखरा– ६ मा डेरा गरी बस्दै आएका थिए।
हत्यापश्चात फरार रहेका उनलाई भैरहवा प्रहरीसँग सहकार्य गरी बिहीबार पक्राउ गरी पोखरा ल्याएको एसपी कार्कीले बताए।
उनका अनुसार अभियुक्त केसी अभद्र व्यवहार मुद्दा र डाका चोरी मुद्दामा पनि पक्राउ परेका थिए।
सिर्जनाको हत्या गर्न मतियारको भूमिका खेलेको भन्दै प्रहरीले पोखरा– १७ रातोपैरा बस्ने कुशल परियारलाई पनि पक्राउ गरेको छ।
परियारले स्कुटरमा राखेर केसीलाई लगेको र हत्या गर्न सहयोग पुर्याएको प्रहरीको दाबी छ।
उनलाई पक्राउ गरेर मतियारका रूपमा अनुसन्धान अघि बढाएको एसपी कार्कीले बताए।
प्रहरी रेकर्ड अनुसार परियार पनि यसअघि पटक पटक लागु औषध मुद्दामा पक्राउ परिसकेका थिए।
सिर्जनाको हत्या गर्न केसीले पैसा दिने भन्दै स्कुटरमा राखेर सिर्जनाचोक लैजान र भगाउन परियारलाई प्रयोग गरेको र हत्या योजनामा उनले सघाएको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धानका क्रममा हत्यामा प्रयोग भएको खुडा पोखराको बिरौटा नजिकै जंगलबाट र स्कुटर मुस्ताङ चोकबाट बरामद गरेको छ। उनीहरूले प्रयोग गरेको मोबाइल पनि बरामद गरेर विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाउन लागेको एसपी कार्कीले बताए।
हत्या गर्नुअघि अभियुक्त केसी र परियारले दिउँसोदेखि नै सिर्जनाको पिछा गरेका थिए।
पृथ्वीचोकमा जुत्ता पसल गर्दै आएकी उनको पसल वरिपरि घुम्ने र साँझपख पसल बन्द गरेर हिँड्दै सिर्जनाचोकतर्फ जाँदै गर्दा पिछा गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। सिर्जना चोकमा अँध्यारो भएको ठाउँमा बोराले बेरेर राखेको खुडा निकालेर पछाडिबाट प्रहार गरेको पनि एसपी कार्कीले बताए।
यस घटनाको योजना बनाउन अरू व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै अनुसन्धानको दायरा बढाएको केसी परिवारका ६ जना बढीसँग बयान लिएको र अन्य व्यक्तिहरूको पनि चालचलन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्मको अनुसन्धानमा परिवारमा चलेको अंश मुद्दा र बेमेल नै हत्याको प्रमुख कारण देखिएको एसपी कार्कीले बताए।
‘अहिलेसम्मको अनुसन्धानमा परिवारभित्र देखिएका बेमेल र अंश मुद्दा नै घटनाको मुख्य कारण देखिएको छ,’ उनले भने, ‘बाँकी अनुसन्धान हुँदै जाँदा खुल्दै जान्छ।’
सिर्जनाको ३ बर्षीय छोरी छिन्। उनका श्रीमान कृष्ण केसीको २ वर्षअघि नै मृत्यु भइसकेको छ।
कृष्णका जेठी श्रीमतीको मृत्युपछि उनले सिर्जनासँग दोस्रो विवाह गरेका थिए। उनको मृत्यु भएपछि परिवारमा अंश र सम्पत्तिका विषयमा जिल्ला अदालत कास्कीमा चलेको मुद्दामा सिर्जनाका पक्षमा फैसला आएको थियो। उक्त फैसला पश्चात परिवारमा झनै कलह थपिएको देखिएको पनि प्रहरीले जनाएको छ।
पक्राउ परेका केसी र परियारलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।