अभद्र व्यवहारको कसुरमा पक्राउ परेका बले भनिने कलाकार सागर लम्साल हाजिर जमानीमा छुटेका छन्।
उनलाई शुक्रबार साँझ परिवारको जिम्मामा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
‘उहाँलाई आवश्यक परेको बेलामा उपस्थित हुने गरी हाजिर जमानीमा छाडिएको छ,’ उनले भने।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई गत शनिबार बिहान पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि अभद्र व्यवहार गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको दाबी गर्दै आएको छ।
तर प्रहरीले उनीमाथि कसले, कहाँ अभद्र व्यवहार गरेको भन्ने उजुरी र उजुरीकर्ताबारे खुलाएको भने छैन।
गत शुक्रबार बिहान अमेरिकामा बस्दै आएकी एक युवतीले उनीविरूद्ध बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। त्यसको भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
यद्यपि प्रहरी परिसरले उनीविरूद्ध जबरजस्ती करणी कसुरमा कुनै जाहेरी भने नपरेको बताएको छ।