सबैभन्दा पहिले फिजियोथेरापी के हो भनेर बुझ्न जरूरी छ। फिजियोथेरापी रिह्याबिलिटेसनको एउटा पाटो पनि हो।
फिजियोथेरापीभित्र रोकथाम, उपचार र लामो समयका लागि रिह्याबिलिटेसन पर्छ। सबैभन्दा पहिले कुनै पनि रोग लाग्नुभन्दा अगाडि त्यो रोग लाग्न नदिन शारीरिक व्यायामहरूको माध्यमबाट गरिने उपचारलाई प्रिभेन्टिभ फिजियोथेरापी भनिन्छ। जस्तै, खेलमा विभिन्न प्रकारका समस्याको रोकथाम गर्न व्यायाम गरिन्छ। त्यस्तै गर्भावस्थामा आमाहरूले पनि व्यायाम गर्ने गर्छन्, जसले गर्दा बच्चा स्वस्थ जन्मियोस् र गर्भसँग सम्बन्धित कुनै समस्या नहोस्।
कुनै दुखाइका कारण बिरामी आएमा त्यसलाई कसरी उपचार गर्ने भन्ने विषय आउँछ। त्यसका लागि विभिन्न प्रकारका परीक्षण र अनुसन्धान गरिन्छ। कुन ठाउँमा समस्या भइरहेको छ भन्ने पत्ता लगाएर त्यसको उपचार गरिन्छ।
फिजियोथेरापीको उपचार समस्याको पहिचानमा आधारित हुन्छ। रोगको पहिचान भएपछि मात्र कुन प्रकारको फिजियोथेरापी गर्ने भनेर निर्धारण गर्न सकिन्छ।
यसमा व्यायाम नै मुख्य हुन्छ। केही व्यायाम चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिन्छ भने केही घरमै पनि गर्न सकिन्छ। तर घरमा पनि चिकित्सकको सल्लाहअनुसार नै व्यायाम गर्नुपर्छ।
अर्को विधि इलेक्ट्रोथेरापी हो, जसले दुखाइ व्यवस्थापनमा ठूलो भूमिका खेल्छ। अहिले अत्याधुनिक प्रविधिहरू पनि आएका छन्, जसमा रोबोटिक टेक्नोलोजीमार्फत पनि फिजियोथेरापी गराउन सकिन्छ।
जसरी कुनै व्यक्तिलाई सुगर भएमा उसले सधैं इन्डोक्राइनोलोजिस्टसँग परामर्श लिनुपर्छ, त्यस्तै केही रोगहरूमा फिजियोथेरापी पनि आवश्यक हुन्छ। जस्तै, पार्किन्सन रोगमा औषधि मात्रले पुग्दैन, शारीरिक जटिलताको रोकथामका लागि नियमित फिजियोथेरापी गरिरहनुपर्छ। यसका लागि फिजियोथेरापिस्टको अनुगमन आवश्यक हुन्छ, जुन दीर्घकालीन रिह्याबिलिटेसन हो।
फिजियोथेरापी क्यान्सर, नसासम्बन्धी समस्या, हाडजोर्नी, फोक्सो र मुटुका बिरामीका लागि उपयोगी हुन्छ। साथै, बच्चा र गर्भवती महिलाका लागि पनि यो लाभदायक हुन्छ।
फिजियोथेरापीका लागि आउने बिरामीमध्ये ढाड दुखाइ र स्ट्रोकका बिरामीहरू धेरै हुन्छन्।
फिजियोथेरापी गर्दा केही कुरामा ध्यान दिन जरूरी छ, किनकि यो आफैमा एउटा उपचार पद्धति हो र फिजियोथेरापिस्टबाटै गरिनुपर्छ।
कतिपय अवस्थामा बिरामीहरूले फिजियोथेरापीलाई साधारण शारीरिक व्यायाम जस्तै ठानेर आफै गर्न सकिन्छ भन्ने सोच्छन्, तर यो गलत हो। फिजियोथेरापीका लागि लामो अध्ययन (१०–१२ वर्ष) आवश्यक हुन्छ, त्यसैले यसलाई हल्का रूपमा लिनु हुँदैन।
फिजियोथेरापीलाई शारीरिक व्यायाम र योगसँग तुलना गरिन्छ, तर वास्तवमा यो फरक कुरा हो। योग र व्यायामको आफ्नै महत्व भए पनि फिजियोथेरापी भने रोगअनुसार गरिने उपचार हो।
फिजियोथेरापी गलत तरिकाले गरियो भने यसले बिरामीलाई थप हानि पुर्याउन सक्छ।
(नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रिह्याबिटेसन कन्सल्ट्यान्ट डा.मन्जु ज्ञवालीसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)