लुम्बिनीस्थित शान्ति दीप अगाडि सम्झौता बिना पुस्तक पसल सञ्चालन गरेको पाइएको छ।
पछिल्ला सात आठ वर्षौंदेखि शान्ति दीपको अगाडि पूर्वतर्फ सिम्बोलिक पेभिलियोन भवनमा विकास कोषको सम्झौता बिना नै पुस्तक पसल सञ्चालन हुँदै आएको पाइएको हो।
लुम्बिनी विकास कोषका अनुसार पुस्तक पसल श्री सारिपुत्र फाउन्डेसनले सञ्चालन गर्दै आएको छ।
पसल सञ्चालन गर्दा अवधेश कुमार त्रिपाठी लुम्बिनी विकास कोषमा उपाध्यक्ष थिए। त्रिपाठीको मौखिक अनुमतिमा सञ्चालन गरिएको पसल त्यसयता पनि बिना अनुमति र सम्झौता सञ्चालन भइरहेको छ।
लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा पुस्तक पसल सञ्चालन गरिएको भन्दै लुम्बिनी विकास कोषले पसल हटाउन पटक पटक पत्राचार गर्दै आएको छ। तर, पसल सञ्चालकले भने हटाउने तर्फ भने बेवास्ता गर्दै आएको छ।
लुम्बिनी विकास कोषले सारीपुत्र फाउन्डेसनलाई पुस्तक पसल राखिएको स्थान विकास कोषको कार्यालय सञ्चालनको लागि आवश्यक रहेकोले खाली गरिदिन भन्दै २०८० सालमा दुई पटक पत्राचार गरेको थियो।
२०८० साउन २ गते र मङ्सिर २८ गते दुई पटक पत्राचार गरे पनि पसल नहटाएपछि सात दिनभित्र पसल राखिएको स्थान खाली गरिदिन विकास कोषले गत चैत १६ गते तेस्रो पटक पत्राचार गरेको थियो।
तेस्रो पटक गरिएको पत्राचारपछि पनि फाउन्डेसनले पसल खाली गर्न बेवास्ता गर्दै आएको विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठले जानकारी दिए। श्रेष्ठले फाउन्डेसनले लुम्बिनीको पवित्र उद्यान क्षेत्र निःशुल्क रूपमा लिएर पुस्तकको व्यापार गरिरहेको बताए।
फाउन्डेसनका सञ्चालक भिक्षु सुमङ्गलले पसल हटाउनुको सट्टा उल्टै विकास कोषबाट सरुवा गरिदिने धम्की दिएको श्रेष्ठले बताए।
‘पसल सञ्चालन गरेको स्थान खाली गरिदिन दुई वर्षदेखि पत्राचार गर्दै आए पनि बेवास्ता गरिरहेपछि गत चैत्र १६ गते तेस्रो पटक पत्राचार गरेका थियौँ, पत्राचार गरेकै दिन विकास कोषमा आएर पसल हटाउनुको सट्टा २४ घण्टा भित्र मलाई नै विकास कोषबाट हटाइदिने धम्की दिनुभयो,’ श्रेष्ठले भने।
पसल सञ्चालक फाउन्डेसनका सञ्चालक भिक्षु सुमङ्गलले भने आफूले सात आठ वर्षदेखि नै सो स्थानमा पुस्तक पसल सञ्चालन गर्दै आएकोले अहिले पनि त्यही स्थानमा सञ्चालन गर्न पाउनुपर्ने बताए।
लुम्बिनी र बुद्ध दर्शनसँग सम्बन्धित पुस्तकहरू पढ्न चाहनेहरूलाई आफूले निःशुल्क रूपमा उपलब्ध गराउँदै लुम्बिनीकै प्रचारप्रसारमा सघाउ पुर्याइरहेको उनले दाबी गरे।
उनले आफूले विकास कोषका कुनै पनि पदाधिकारी र कर्मचारीलाई कुनै प्रकारको धम्की या दबाब नदिएको जिकिर गरे।
‘मैले कुनै पनि पदाधिकारी र कर्मचारीहरूलाई धम्की या दबाब दिएको छैन, विकास कोषले पुस्तक पसल रहेको स्थान खाली गरिदिन पत्राचार गर्नुभएको छ त्यो उहाँहरूको काम हो मैले मेरो काम गरिरहेको छु, सुमङ्गलले विकास कोषले पसल हटाउन ताकेता गरिरहे आफूले पनि पसल नहटाउन आफ्नो तर्फबाट कदम चाल्ने बताए। उनले कस्तो कदम चाल्ने भन्ने विषयमा भने खुलाएनन्।
यस्तै शान्ति दीपको अगाडी पश्चिमतर्फको सिम्बोलिक पेभिलियोन भवन पनि वर्षौँदेखि चिया खाजा पसलका लागि निःशुल्क रूपमा प्रयोग हुँदै आएको छ।
लुम्बिनी विकास कोषका अनुसार स्थानीय महिलाहरूले सम्झौता बिना नै आमा क्याफे नाममा चिया खाजा पसल सञ्चालन गर्दै आएका छन्।
यता लुम्बिनी विकास कोषसँग सम्झौता गरेर सञ्चालन गरिएका होटेल तथा पसलहरूले पनि वर्षौँदेखि भाडा बुझाएका छैनन्। विकास कोषले बसपार्क, विश्व शान्ति स्तुपा, शान्ति दीप प्रवेश गर्ने गेट बाहिर लगायत विभिन्न स्थानमा हस्तकला, खेलौना, माला पसल तथा होटेल सञ्चालनका लागि भाडामा लगाउँदै आएको छ।
विकास कोषभित्र पुराना ३४ र नयाँ ८६ गरी १२० वटा होटल, चिया तथा चमेना गृह, मिठाई पसल, ह्याण्डी क्राफ्ट, खेलौना तथा माला पसलहरू सञ्चालन गरिएका छन्। अधिकांश स्थानीयवासीले सञ्चालन गरेका ती पसलहरूबाट ७४ लाख ७७ हजार २ सय रुपैयाँ भाडा उठ्न सकेको छैन।
विकास कोषले निर्माण गरिदिएका संरचना तथा खाली स्थानमा ट्याङ्की राखेर सञ्चालन गरेबापत हरेक पसलले वार्षिक १२ हजार रुपैयाँदेखि २४ हजार रुपैयाँसम्म विकास कोषलाई भाडा बुझाउनुपर्ने सम्झौता छ। तर, पसल सञ्चालकहरूले वर्षौँदेखि भाडा बुझाउने तर्फ बेवास्ता गर्दै आएको विकास कोषका सदस्य सचिव श्रेष्ठले बताए।
विकास कोष भन्दा त्यहाँका पसल सञ्चालकहरू बलियो भएका कारण वर्षौँदेखि भाडा उठ्न नसकेको उनले बताए।
‘त्यहाँका व्यवसायीहरूको शक्ति यत्ति बलियो रहेछ की भाडाको बक्यौता उठाउन खोज्दा लुम्बिनीबाट सरुवा गरिदिने धम्की आउने गरेको छ,’ श्रेष्ठले भने।