काठमाडौं महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तीव्रता दिएको छ।
महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले यो अभियान सुरू गरेको हो।
यस अभियानले सहरको सौन्दर्य बढाउनुका साथै सहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।
हाल रोपिएका बेगमबेली फूलहरू पहेँलो, रातो र गुलावी लगायतका विभिन्न रङमा फुल्नेछन्।
फूल फुलाउने कार्यलाई दिगो र व्यवस्थित बनाउनका लागि बलिया सिमेन्टका गमलाहरू प्रयोग गरिएको छ। यी स्थायी ठूला गमलाहरूमा बिरूवा लगाउने, गोडमेल गर्ने र नियमित पानी हाल्ने जिम्मेवारी वातावरण व्यवस्थापन विभागले सम्हालेको छ।
महानगरको यो अभियान केवल मुख्य सडकहरूमा मात्र सीमित रहने छैन।
पहिलो चरणमा मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपरको क्षेत्रलाई समेटिएको भए पनि दोस्रो चरणमा काठमाडौंका भित्री सहरी क्षेत्रहरूमा पनि गमला राख्दै लगिने योजना छ।
सहरलाई कंक्रिटको जङ्गलबाट मुक्त गरी हरियाली र रङ्गीचङ्गी फूलहरूले सजाउने महानगरको यो प्रयासलाई स्थानीय बासिन्दाहरूले पनि सकारात्मक रूपमा लिएका छन्। सडक किनारामा ढकमक्क फूल फुल्दा पैदलयात्री र सवारी चालक दुवैका लागि यात्रा सुखद् हुने अपेक्षा गरिएको छ।
तस्बिरहरू:
-1775892838.jpg)
-1775892839.jpg)
-1775892838.jpg)
-1775892838.jpg)
-1775892838.jpg)
–न्युज एजेन्सी नेपाल