थाइल्यान्डबाट ७ किलो गाँजा ल्याएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार काठमाडौं आइपुगेका दुई भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको डिएसपी जीवन निरौलाले जानकारी दिए।
बैंककबाट दुबई र त्यहाँबाट फ्लाइ दबईमा काठमाडौं आइपुगेका ३९ वर्षीय मोहसिन सलाउद्दिन खानलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि शंका लागेर उनलाई पछ्याउँदै प्रहरी होटलसम्म पुगेको हो। त्यहाँबाट अर्का भारतीय नागरिक मोहम्मद रहिल मोहम्मद तहिर गंगु फेला परेका थिए।
उनीहरूबाट ७ किलो गाँजा बरामद भएको थियो।
मोहम्मद रहिल चैत २६ गते मलेसिया एयरलाइनमार्फत काठमाडौं आएका थिए।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।