प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह लगायत अन्य नेतामाथि अपमानजनक शब्दहरू प्रयोग गरेर भिडिओ बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल छुटेका छन्।
उनलाई हजुरआमा र काकाको जिम्मा जमानीमा आइतबार छाडिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए।
उनी शुक्रबार (चैत २७ गते) पक्राउ परेका थिए।
'प्रहरीले बोलाएको बेलामा उपस्थित हुने गरी जिम्मा जमानीमा छोडेका हौं,' इन्स्पेक्टर शाहले भने।
फाल्गुनन्द गाउँपालिका-७ का रोशनले दुई महिना अघि युट्युबमा रास्वपा नेताहरू रबि लामिछाने, बालेन शाह, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूलाई अपशब्द प्रयोग गरी गाली गरेको भिडिओ सार्वजनिक गरेका थिए।
हेड्स (hades) नामको युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक गरेको दुई महिनापछि उनी पक्राउ परेका हुन्। युट्युब च्यानलसहित फेसबुक र इस्टाग्राममा पनि आपत्तिजनक शब्द प्रयोग गरिएका भिडिओ सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ।
उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो।
उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना सुरू भएको थियो।