अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लामो समयसम्म नाकाबन्दीको तयारी गर्न निर्देशन दिएका छन्।
ह्वाइट हाउसको सिचुएसन रूममा भएको छलफलमा ट्रम्पले इरानी बन्दरगाहतर्फ आउने-जाने सबै पानीजहाजहरू रोक्दै तेहरानको तेल निर्यातमा कडा दबाब कायम राख्ने रणनीति लामो समयसम्म कायम राख्न निर्देशन दिएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले लेखेको छ।
शान्ति सम्झौताका लागि अमेरिकाको मुख्य सर्त इरानले युरेनियम प्रशोधन गर्न नपाउने भन्ने हो। उसले आणविक बम बनाउन मिल्ने गरी ४०० किलोभन्दा बढी युरेनियमको उच्च प्रशोधन गरिसकेको छ। त्यो हस्तान्तरण गर्नुपर्ने पनि अमेरिकाको सर्त छ।
इरान हस्तान्तरण भन्दा उच्च प्रशोधित युरेनियमलाई कम प्रशोधित बनाउन तयार देखिन्छ।
इरानले अडान कायम राख्दै शान्ति सम्झौता नहुने देखिए अेमरिकाका लागि तत्काल तीनवटा विकल्प रहनेछ।
पहिलो, इरानमाथि पुनः आक्रमण गर्ने।
दोस्रो, युद्धबाट बाहिरिने।
र तेस्रो, नाकाबन्दी कायम राखेर ऊमाथि दबाब बनाइराख्ने।
अमेरिकाले अहिले खाडी क्षेत्रमा ठूलो संख्यामा सेना र लडाकू विमानवाहक युद्धपोतहरू पनि जम्मा गरेको छ। पछिल्ला केही दिनमा अमेरिकी लडाकू विमान र हावामै तेल हाल्न प्रयोग हुने विमानको चहलपहल बढेको समाचार आएका छन्। यसले अमेरिकाले फेरि आक्रमण गर्न सक्ने डर इरानमाथि छ।
यद्यपि ट्रम्पले अहिले युद्ध पुनः सुरू गर्ने वा युद्धबाट पूर्ण रूपमा बाहिरिनुभन्दा नाकाबन्दी लामो समयसम्म कायम राख्नु कम जोखिमपूर्ण हुने मूल्यांकन गर्दै त्यस्तो निर्देशन दिएको भनेर अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले लेखेको छ।
युद्ध सुरू भएको तेस्रो महिना प्रवेश गर्दा इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्ता पनि भाँडिएको छ। इरानले अब अमेरिकासँग प्रत्यक्ष वार्तामा नबस्ने भनेर पाकिस्तानमार्फत आफ्ना सर्तहरू अमेरिकासामु प्रस्तुत गरेको छ।
इरानको सर्तप्रति ट्रम्प असन्तुष्ट रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।
पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाएका थिए। अब त्यसलाई लामो समयसम्म जारी राख्न उनले आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको वासिङ्टन पोस्टले जनाएको छ।
इरानमा अमेरिकाले नाकाबन्दी गरेपछि उसको आम्दानीको स्रोत सुकेको छ। इरानमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति पनि कम भइरहेको मानिन्छ। त्यसैले इरानले आर्थिक समस्याका कारण आणविक कार्यक्रमसम्बन्धी अमेरिकाको सर्त मान्न बाध्य हुनेछ भन्ने ट्रम्पको अनुमान देखिन्छ।
पछिल्लो समय हर्मुज पुन: खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई इरानले नयाँ प्रस्ताव गरेको छ। अहिलेलाई हर्मुज खोलेर युद्ध अन्त्य गर्ने र आणविक हतियारसम्बन्धी वार्ता पछि गर्न इरानले प्रस्ताव गरेको छ।
तर अहिले नै हर्मुज खोले आणविक हतियारसम्बन्धी वार्तामा इरानमाथि दबाब हाल्न नसकिने भनेर ट्रम्पले प्रस्ताव मानेका छैनन्। केही दिन नाकाबन्दी लम्बिए इरानले थप समस्या भोग्ने अमेरिकी आकलन छ।
अहिले तेल बेच्न नपाएकाले इरानको तेल भण्डार भरिन लागेको बताइन्छ। भण्डारण क्षमतामा दबाब बढेपछि इरानले उपयोग गर्न छाडिएका पुराना ट्यांकीसमेत प्रयोग गर्न थालेको भनेर मंगलबार मात्रै अमेरिकी पत्रिका 'द वाल स्ट्रिट जर्नल' ले लेखेको छ। केही साता नाकाबन्दी लम्बिए इरानले तेलखानी नै बन्द गर्नुपर्ने अवस्था देखिन्छ।
खानी चालु नहुँदा बिग्रिन सक्छन्। खानी बिग्रिए युद्ध अन्त्य भएपछि पनि इरानले तुरून्तै तेल निकाल्न सक्ने छैन। त्यसैले इरानले ढिलो-चाँडो आणविक कार्यक्रमबारे आफ्नो सर्त मान्नेछ भनेर ट्रम्पले नाकाबन्दी लगाइरहेका छन्।
अर्कातर्फ हर्मुज बन्द भएकाले विश्व अर्थतन्त्रमा परेको समस्या बढ्दै गए ट्रम्प आफै हर्मुज खोल्न बाध्य हुने इरानको आकलन देखिन्छ।
अर्को अमेरिकी पत्रिका ब्लूमबर्गको रिपोर्ट अनुसार यो रणनीतिले युद्धलाई केही समय स्थिर जस्तो देखाए पनि दीर्घकालीन समाधान भने नदिने संकेत देखिएको छ। साथै, इरानसँगको द्वन्द्व जारी रहँदा स्ट्रेट अफ हर्मुजमा जहाज आवागमन अझै अनिश्चित बनेको छ।
ट्रम्पले इरानसँग चलिरहेको वार्तामा पनि कडा अडान राखेका छन्। उनले इरानको प्रस्तावित अस्थायी सम्झौता अस्वीकार गर्दै यसले वार्तामा इमानदारी नदेखाएको निष्कर्ष निकालेको रिपोर्टमा उल्लेख छ। ट्रम्पले इरानले कम्तीमा २० वर्षसम्म युरेनियम संवर्धन रोक्नुपर्ने र त्यसपछि पनि कडा प्रतिबन्ध स्वीकार गर्नुपर्ने सर्त राखेका छन्।
अमेरिकी प्रशासनभित्र भने यस रणनीतिबारे मतभेद देखिएको छ। केही रिपब्लिकन नेताहरू र ट्रम्प निकट व्यक्तिहरूले दबाब कायम राख्नुपर्ने पक्षमा तर्क गरेका छन् भने केही व्यवसायिक क्षेत्रका व्यक्तिहरूले हर्मुज जलमार्ग बन्द हुँदा विश्व अर्थतन्त्रमा ठूलो धक्का पुग्ने चेतावनी दिएका छन्।
ब्लूमबर्गका अनुसार ट्रम्पले इरानले वार्तामा प्रस्तुत गरेको 'अस्थायी रूपमा स्ट्रेट अफ हर्मुज खोल्ने' प्रस्तावलाई पनि अस्वीकार गरेका छन्। इरानले भने वार्तालाई अघि बढाउन पहिले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने अडान राखेको छ।
त्यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले पनि दुवै पक्षबीच तत्काल कुनै ठोस प्रगति हुने सम्भावनामा शंका व्यक्त गरेका छन्। विश्लेषकहरूका अनुसार दुवै देशले समय आफ्नो पक्षमा रहेको ठानेकाले द्वन्द्व लामो समयसम्म अनिश्चित अवस्थामा रहन सक्ने जोखिम बढेको छ।