नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा नेपाल प्रहरी दृढ रहेको बताएका छन्।
उनले विपद्को जोखिम न्यूनीकरणका लागि सञ्चारकर्मी र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरेको बताएका हुन्।
शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आइजिपी कार्कीले वर्षा, सम्भावित हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले लेखेका छन्, ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ।’
उनले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्नेमा नेपाल प्रहरी हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
आइजिपी कार्कीको यो भनाइ सञ्चारमाध्यममा प्रहरीको धरपकड र पत्रकारमाथि गरिएको व्यवहारको आलोचना भइरहेका बेला आएको हो।
शुक्रबार प्रहरीले केही सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारहरूसँग सोधपुछ गरेको थियो। त्यसक्रममा पत्रकारहरूलाई नियन्त्रणमा लिन खोजिएको भन्दै विरोध भएको थियो। घटनाबारे प्रहरी प्रवक्ताले पत्रकारलाई पक्राउ गर्ने उद्देश्य नभई केही विषय बुझ्न गएको बताएका थिए। तर प्रहरीको यो कदमलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विभिन्न सञ्चारकर्मी तथा राजनीतिक दलका नेताहरूले आलोचना गरेका थिए।