रातो लुगा, रातो सारी र रातो घुम्टो— सामान्यतया यी चिजहरू नेपाली समाजमा उत्सव, खुसी र दाम्पत्य जीवनको सुखद सुरूआतका प्रतीक मानिन्छन्।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भुजहवाकी २२ वर्षीया सुनिता हरिजनका लागि भने रातो रङ विगत ११ वर्षदेखि मानसिक रन्थनाहट र पीडाको पर्याय बनिरहेको छ।
आज पनि कसैले रातो लुगा लगाएको देख्दा उनको मस्तिष्कमा ११ वर्ष पहिलेको घटनाले नराम्रोसँग घोचिदिन्छ। आफ्नो बाल मस्तिष्कलाई नराम्ररी तर्साएको अतीत बिर्सिन सुनिताले त्यसयता रातो लुगा लगाउने साहस गरेकी छैनन्।
११ वर्षको उमेरमा उनको परिवारले बाँधिदिन लागेको बिहेको रातो घुम्टोको बन्धन तोडेर अहिले सुनिता आत्मविश्वास साथ खुला आकाशमा उडान भरिरहेकी छन्।
मधेसी समुदाय, दलित वर्गको एउटा विपन्न परिवार। रूपन्देहीको मर्चवार क्षेत्रसँग जोडिएको भूगोल, जहाँ हिजोका दिनमा छोरीहरूले काँधमा झोला बोकेर विद्यालय जानु एउटा अनौठो र नगण्य घटना मानिन्थ्यो।
कहिल्यै विद्यालयको ढोकासम्म नटेकेका बेकारू र निर्मला हरिजनका आठ सन्तान थिए। दुई छोरी र तीन छोरापछिको छैटौं सन्तानका रूपमा जन्मिएकी थिइन् सुनिता।
सुनिताभन्दा अगाडिका दुवै दिदीहरू मन्जिता र संगीताको नियति समाजको त्यही पुरानो चक्रव्यूहमा पिसिइसकेको थियो। सुनिताका दाजुहरूले पनि दुई/तीन कक्षाभन्दा बढी पढ्ने जाँगर देखाएनन्। एक भाइ र बहिनी भने भर्खर एक/दुई कक्षामा अक्षर चिन्दै थिए।
यस्तो परिवारमा हुर्किएकी सुनितामा भने सानैदेखि पढ्ने अनौठो र तीव्र भोक थियो। उनी बलरामपुर माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दै गर्दा आफ्नो परिवारमा सबैभन्दा धेरै पढ्ने पहिलो सदस्य बनिसकेकी थिइन्।
उनलाई धेरै पढेर आफ्नो पिछडिएको समुदाय र सिंगो गाउँ समाजको मुहार फेर्ने ठूलो चाहना थियो।
'तर छोरीलाई धेरै पढाउनु हुँदैन, भोलि बिग्रिएर इज्जत फाल्छे, अर्काको घर जाने जातलाई पढाएर के फाइदा भन्दै गाउँ समाजका मानिसहरूले आमाबुबालाई दिनहुँ दबाब र तानाबाना दिन्थे,' सुनिता सम्झिन्छिन्।
गरिबी र अशिक्षाको चेपुवामा परेका बेकारू र निर्मलासँग गाउँ समाजको त्यो परम्परागत रूढीवादी सोचभन्दा बाहिर जान सकेनन्।
पहाडजत्रो दबाबका अगाडि एउटी कलिली बालिकाको धेरै पढ्ने चाहनाले पनि जित्न सकेन। ११ वर्षको उमेरमा सुनिताको हातबाट कलम र कापी खोसियो, दैनिकी चुह्लोचौको सिक्नमा बित्न थाल्यो।
२०७२ सालको कुरा हो।
घरको काममा व्यस्त हुन थालेपछि उनको जीवनमा अर्को ठूलो संकट आइलाग्यो। आमाबुबाले गाउँकै एक किशोरसँग उनको बिहे पक्का गरिदिए।
तर सुनिता आफ्नो बालविवाह स्वीकार गर्न तयार थिइनन्।

'आमाबुबाले रातो सारी र घुम्टो किनेर ल्याइदिएपछि मैले त मेरो जीवन नै यहीँ सकियो, मेरो संसार समाप्त भयो भन्ने सोचेँ। त्यसैले अहिले पनि कतै रातो लुगा देख्दा त्यही दिनको सम्झना आउँछ र आँखाबाट बरबर आँसु बग्न थाल्छ,' उनले भनिन्।
बिहे टार्ने सहाराको खोजीमा छट्पटाइरहेकी सुनिताको जीवनमा एउटा ठूलो परिवर्तनको संवाहक बनेर आयो 'उडान'।
त्यो समय गाउँमा उडान नामको परियोजनाले बीचमै स्कुल छोड्न बाध्य भएका, बालविवाहको जोखिममा परेका र विपन्न समुदायका किशोरीहरू पढाउने, उनीहरूलाई अधिकारका बारेमा सशक्तीकरण गर्ने र आर्थिक उपार्जनका काममा सघाउने अभियान चलाइरहेको थियो।
स्कुल छुटाएर परिवारले सुनिताको विवाह गरिदिँदै छ भन्ने कुरा गाउँमा धेरैलाई थाहा भइसकेको थियो। उडानमा काम गर्ने दुलाहरमती यादवले पनि सुनितालाई भेट्न खोजिरहेकी थिइन्। आशाको सानो त्यान्द्रो भेटेपछि सुनिता दुलाहरमतीको सम्पर्कमा पुगिन्।
आमाबुबालाई सम्झाइदिन सुनिताले दुलाहरमतीलाई आग्रह गरिन्। गाउँगाउँमा बालविवाह विरूद्ध अभिभावकहरूलाई सचेत गराउँदै हिँड्ने दुलाहरमतीले सुनिताको घरमै पुगेर कानुनी र स्वास्थ्य सम्बन्धी असरहरूबारे बुझाइन्। उनको जोडबल र सम्झाइ–बुझाइपछि आमाबुबा दुई वर्षसम्म छोरीको विवाह नगरिदिन राजी भए।
त्यही दुई वर्ष सुनिताको जीवनको 'टर्निङ प्वाइन्ट' बनिदियो।
बिहे रोकिए पनि उनको दैनिकी घरधन्दामै व्यस्त थियो। उडानले सुनिताजस्तै स्कुल छोडेका किशोरीलाई विशेष कक्षा चलाइरहेको थियो। उनले आफूलाई पनि त्यही कक्षामा पठाउन आमाबुबासँग अनुरोध गरिन्। आमाबुबा माने।
'म बिहान–साँझ घरको काम गरेर दिउँसो पढ्न जान थालेँ। एकै वर्षमा कक्षा ६ र ७ को कोर्स पूरा गरेँ,' उनले भनिन्।
उनी बेलाबेला संस्थाले दिने तालिमहरूमा पनि सहभागी हुन्थिन्।
उनका लागि उडान एउटा कक्षा मात्र नभएर गुमेको आत्मविश्वास फर्काउने पाठशाला बनिदियो।
'उडानले मेरो आत्मविश्वास र चेतनाको स्तर धेरै बढाइदियो। मैले परिवारलाई तर्कसहित बुझाएर आफ्नो बिहे पूर्ण रूपमा रोक्न र मलाई अगाडि बढ्न दिन मनाउन सफल भएँ,' सुनिता गर्वका साथ भन्छिन्।
घरमा बेला बेला बिहेको चर्चा हुँदा प्रहरीकहाँ उजुरी दिन्छु भनिदिन्थिन्। बिस्तारै घरकाले बिहेको कुरा गर्न बन्द गरे। त्यसपछि स्कुल जाने बाटो पनि खुला भयो।
उडानमा ६ र ७ कक्षा पढेकी सुनिता दुई वर्षपछि पहिलेकै स्कुलमा कक्षा ८ मा भर्ना भइन्। प्लस–टूसम्म पढिन्।
अहिले उनी खुदा बगर आदर्श कलेजमा स्नातक तेस्रो वर्षमा पढिरहेकी छन्।
११ वर्षको उमेरमा बिहे हुन लागेको अवस्था पार गर्दै स्नातक तहमा पुग्नु आफ्नो जीवनकै ठूलो क्रान्ति भएको उनी बताउँछिन्।

अहिले सुनिता आफ्नो पढाइलाई निरन्तरता दिने एउटी सामान्य विद्यार्थी मात्र होइनन्, महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपालमा कार्यरत पनि छिन्। उडान र दिदीबहिनी परियोजना तथा केयर नेपालसँग साझेदारी गर्दै उनी उत्पीडन र जोखिममा परेका सयौं किशोरीको अधिकारका लागि खटिरहेकी छिन्।
'उडान, केयर नेपाल र ओरेकले मेरो दोस्रो जन्म नै गराइदिए जस्तो लाग्छ। हिजो आफ्नै अधिकारका लागि परिवारका सदस्यहरूसँग बोल्नसमेत डरले काम्ने म, आज समाजका अन्यायविरूद्ध र अरू किशोरीहरूमाथि भएको न्यायका लागि आवाज उठाउन सक्ने भएकी छु,' उनी सुनाउँछिन्।
हुन त रूपन्देहीको मर्चवार र आसपासको ग्रामीण क्षेत्रमा अझै पनि छोरीहरूलाई विद्यालय नपठाई सानै उमेरमा विवाह गरिदिने गलत प्रचलन पूर्ण रूपमा हटिसकेको छैन।
यहाँ छोरीलाई उच्च शिक्षा दिएर ठूलो बनाएर बिहे गर्दा केटा पक्षलाई धेरै दाइजो (दहेज) दिनुपर्ने बाध्यता र दबाब रहेको स्थानीय बासिन्दाहरू बताउँछन्।
यही आर्थिक भार र लोकलाजको डरका कारण कतिपय चाहेर पनि आफ्ना छोरीहरूलाई धेरै पढाउन नसकिरहेको अभिभावकहरूको भनाइ छ।
त्यस्तै सामाजिक कुरीति र परिवेशलाई छिचोल्दै स्नातकसम्म पढिरहेकी सुनिता गाउँमा बालविवाह रोक्ने र किशोरीहरूलाई स्कुलमै टिकाइराख्ने अभियानको अगुवाइ गरिरहेकी छन्।
अहिले उनी किशोरी अधिकार मञ्च रूपन्देहीको जिल्ला अध्यक्षको जिम्मेवारीमा छिन्। अध्यक्षको हैसियतमा उनले रूपन्देहीका गाउँ गाउँ पुगेर किशोरी अधिकार मञ्चहरू गठन गर्दै सयौं किशोरीहरूको नेतृत्व गरिरहेकी छिन्।
उनकै अगुवाइमा विभिन्न पालिका र वडा तहमा मञ्च गठन गरिएका छन्। मञ्चलाई केयर नेपाल र ओरेक नेपालले समन्वयको भूमिकामा सहयोग गर्दै आएको छ।
मञ्चमा आबद्ध किशोरीहरूले आफूहरूको शिक्षासँगै सामाजिक सुरक्षा, महिला हिंसा, प्रजनन, महिनावारी, किशोरी अधिकार, लैंगिक समानता, क्षमता विकास, विभिन्न सीपमूलक तालिम लगायत क्षेत्रमा काम गर्छन्।
पैसाकै कारण पढ्न नपाएका किशोरीहरूका लागि बचत कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
'स्कुल पढ्दादेखि नै बचत कार्यक्रम सुरू गरेका हौं। ४५ जनाभन्दा बढी किशोरीहरूले प्रत्येक शनिबार भेटघाट गरेर बचत गर्थ्यौं। घरबाट विद्यालयमा खाजा खान लगेको पैसा बचाएर एक वर्षमा गरेको दुई लाखभन्दा माथि बचत गरेर किशोरीहरूकै लागि खर्च गर्ने गरेका थियौं,' उनले बताइन्।
अहिले उनीहरू दिदीबहिनी परियोजनामा आबद्ध भएर आफूहरूजस्तै किशोरीहरूको नेतृत्व विकास, शिक्षा र अधिकारका विषयमा काम गरिरहेका छन्।
'गाउँ गाउँमा किशोरी अधिकार मञ्च गठन भएपछि अहिले त हामीहरूको अवस्था फेरिन थालेको छ। धेरै किशोरीहरू आत्मनिर्भर बन्न थालेका छन्। आफ्नो आवाज आफै उठाउन सक्ने भएका छन्। ११ वर्षमै विवाह गर्न दबाब दिने मेरो परिवार अहिले म २२ वर्षको हुँदा पनि बिहेका लागि दबाब दिन छोडिसकेको छ,' उनी भन्छिन्।
उडानमा पाएको नेतृत्व विकासको अवसर र सिकाएका कुराहरूले आफ्नो सोच्ने तरिका नै बदलिदिएको उनी बताउँछिन्।
'उडानले मलाई बोल्न सिकायो, आफ्नो अधिकार चिन्न सिकायो र सबभन्दा महत्त्वपूर्ण कुरा— नेतृत्व लिन सक्ने साहस दियो,' सुनिता भन्छिन्।
हिजो आफ्नै लागि सहारा खोज्ने सुनिता आज आफूजस्तै किशोरीहरूको प्रेरणा बन्दै उनीहरूको अधिकार, सुरक्षित वातावरण र बालविवाह अन्त्यका लागि डटेर अभियानहरू सञ्चालन गरिरहेकी छन्।
सुनिता हरिजनको ११ वर्षको भोगाइ, सिकाइ र अनुभवले प्रमाणित गरिदिएको छ कि शिक्षा र ज्ञानबाट पछाडि पारिएका किशोरीहरूलाई सही अवसर र अगाडि बढ्न थोरै भए पनि टेको दिन सक्ने हो भने उनीहरू समाजको नेतृत्व गर्न सक्षम छन्।
केयर नेपालका अभियन्ता नवराज शर्मा पनि किशोरीहरू आफै बालविवाह विरूद्धको अभियानमा लागेपछि बालविवाह घट्दै गएको बताउँछन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन पनि गाउँ गाउँमा गठन गरिएका किशोरी अधिकार मञ्च र नगरपालिकाको सचेतनापछि स्कुल छुटाएर सानैमा विवाह गरिदिनेहरूको संख्या कमी आएको बताउँछिन्।