दाङको घोराहीका एक जना बालिकाको शव पोखरीमा फेला परेको छ।
घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर चोक नजिकको सिँचाइका लागि मानव निर्मित ड्याममा स्थानीय १० वर्षीया आशिका घर्तीको बुधबार शव फेला परेको हो।
स्थानीय जुनमाया घर्तीको छोरी आशिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्।
बुधबार बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएकी थिइन्। तर, पेट दुखेको भनेपछि उनी दिदी सँगै घर फर्किने क्रममा घरभन्दा करिब ५०० मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पसेकी थिइन्।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी खटिएको थियो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी डा.हेमबहादुर केसीका अनुसार खोजीका खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले दिउँसो १ बजे उनको शव तालबाट निकालेको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनकी दिदी भने सकुशल रहेको प्रहरीले जनाएको छ।