'आइजिपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको' भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने बताएको हो।
प्रहरीले अपुष्ट तथा भ्रामक सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरेको छ। साथै, प्रहरी संगठनलाई कमजोर बनाउने उद्देश्यले भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अवि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सिर्जना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालामा हार्दिक अनुरोध गर्दछ।'
नेपाल प्रहरीले सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ।
पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै सूचनाको सत्यता सुनिश्चित गर्न पनि प्रहरीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यानाकर्षण गराएको छ।
'सरकारको नीति निर्देशन अनुसार नागरिक प्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित छ। नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकताबद्ध हुँदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
नेपाल प्रहरीले आफू सार्वजनिक सुरक्षा, शान्ति–अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध सुरक्षा संगठन भएको उल्लेख गरेको छ।
संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरूद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको गतिविधिमाथि अनुसन्धान गरिने विज्ञप्तिमा उल्लेख छ।
त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले जनाएको छ।

