सुन-चाँदीका गरगहना अमेरिका पठाउन लागेका कार्गो कम्पनीका दुई जना सञ्चालक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई गरगहनासहित नियन्त्रणमा लिएको एसपी राजकुमार सिलवालले जानकारी दिए।
एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल पक्राउ परेका हुन्।
असार १६ गते विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा जुत्ता, पाइन्ट, सारी, अन्य कपडा उल्लेख भएको कार्गो बाकसलाई एक्सरे चेकजाँच गरिएको थियो। तर त्यसरी विवरण लेखिएकोमा अरू नै सामान राखिएको हुनसक्ने शंकामा खोलेर हेरिएको थियो।
त्यसक्रममा बाकस भित्र विभिन्न सुन र चाँदीका गरगहना फेला परेको हो।
उक्त सामान युनिक कार्गोले एपेक्समार्फत अमेरिका पठाउन लागेको खुलेपछि दुबै कम्पनीका सञ्चालकलाई नियन्त्रणमा लिए अनुसन्धान अघि बढाएको हो। अनुसन्धानका लागि दुबै जनालाई विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ।