पोखरामा रहेको एक स्नुकर हाउसभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गरेको भेटिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको पोखरा शाखाको टोलीले पोखरा महानगरपालिका-१५ मा रहेको सोनाम स्नुकर हाउसमा खैरो हेरोइनको कारोबार भएको फेला पारेको हो।
ब्युरो प्रवक्ता एसपी दुर्गाराज रेग्मीका अनुसार उक्त हाउसबाट प्रहरीले ११२.५३ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
प्रहरीले उक्त हाउसका संचालक गोविन्द थापा र रूमबहादुर थापालाई पक्राउ गरेको छ। उनीहरू दाजुभाइ समेत हुन्।
उनीहरूले त्यही हाउसमा काम गर्ने बाँकेका सुरज सुनरलाई खैरो हेरोइन खरिद गर्न भारततर्फ (काँकडभित्ता पारी पानी ट्यांकी) पठाएर खरिद गर्न लगाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ। उनीहरू तीनै जनामाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ।
गोविन्द थापा पहिले पनि लागुऔषध कारोबारमा संलग्न रहेको भेटिएको छ। उनले लागुऔषधको मुद्दामा ३० महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तान गरेको भेटिएको हो।
उनीहरूबाट प्रहरीले ६ लाख ७ हजार रुपैयाँ, दुई वटा डिजिटल तराजु र पाँच वटा मोबाइल पनि बरामद गरेको छ।