मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित ‘घरपझोङ काव्ययात्रा–२०८३’ अन्तर्गत परम्परागत सीप र श्रमलाई जोगाइरहेका तीन स्थानीय व्यक्तित्व सम्मानित भएका छन्।
जोमसोममा आयोजित कार्यक्रममा आरन व्यवसायलाई करिब ६ दशकदेखि निरन्तरता दिँदै आएका चिमाङका साइला विक, चार दशकभन्दा बढी समयदेखि सिलाइ–कटाइमा सक्रिय कुमारी नेपाली र पाँच दशकदेखि काष्ठकलामा समर्पित स्याङका मनप्रसाद विकलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला ले सम्मानपत्र प्रदान गरेका थिए भने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले नगद र उपाध्यक्ष जमुना थकाली थापामगरले खादा प्रदान गरेका थिए।
घरपझोङ गाउँपालिकाको आयोजना र कन्सेप्ट नेपालको संयोजनमा सम्पन्न काव्ययात्रामा देशभरका १५ जना चर्चित लेखकको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत घरपझोङको पर्यटन, संस्कृति र स्थानीय जीवनशैलीको प्रवर्द्धनसँगै परम्परागत सीप संरक्षणमा योगदान पुर्याउने श्रमजीवी व्यक्तिहरूको सम्मान गरिएको आयोजकले जनाएको छ।