बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा २० जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बसमा सवार यात्रुको यकिन संख्या भने खुल्न बाँकी छ।
दुर्घटनापछि प्रहरी चौकी बैतडीबाट प्रहरी सहायक निरीक्षक कृष्णराज भट्टको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेर उद्धार कार्य थालेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा थप २५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ४३ वर्षीय जनकप्रसाद पन्त, ११ वर्षीय सिद्धार्थ भण्डारी, ८६ वर्षीय गौरीदत्त अवस्थी, ३१ वर्षीय दीपक विक र नाम नखुलेकी करिब ५५ वर्षीया एक महिला गम्भीर घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने गौरीदत्त अवस्थीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
अन्य घाइतेहरूको खोड्पे स्वास्थ्य चौकी तथा डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक दिनेश भाट पनि दुर्घटनामा घाइते भएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यात्रुको यकिन संख्या तथा क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।