रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि कुशल संगठक र सफल व्यवसायी रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरका रूपमा पदभार ग्रहण गरेका छन्।
राजधानीमा आयोजित ‘इन्स्टलेसन’ समारोहका बीच कार्कीले कार्यभार सम्हालेका हुन्।
रोटरी इन्टरनेशनलका डिरेक्टर (२०२७–२०२९) रोटरियन बासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नेपाल र भुटानका १६५ रोटरी क्लबका ४६० भन्दा बढी रोटरियन तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रम सम्बोधनका क्रममा डिस्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्कीले रोटरीको ‘सेवा नै धर्म’ को मूल मन्त्रका साथ अघि बढ्ने बताए।
‘मेरो नेतृत्वमा यस वर्ष हामी रोटरी क्लबहरूलाई अझ सुदृढ बनाउन, सदस्यता विस्तार गर्न र सेवाका परियोजनाहरूलाई बढी प्रभावकारी र दिगो बनाउन केन्द्रित हुनेछौँ। विशेषगरी युवाहरूलाई रोटरीका विभिन्न माध्यमबाट सशक्त बनाउने र रोटरी फाउन्डेसनमार्फत समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउने हाम्रो मुख्य लक्ष्य रहनेछ,’ उनले भने।
यसका साथै विभिन्न क्लब अध्यक्षहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै गर्दै गभर्नर कार्कीले क्लब अध्यक्षहरू नै रोटरीका मेरूदण्ड भएको बताए।
‘उहाँहरूले नै संस्थाको भिजनलाई काममा बदल्नुहुन्छ र समुदायमा प्रत्यक्ष प्रभाव पार्नुहुन्छ। मलाई विश्वास छ, नवनियुक्त अध्यक्षहरूको नेतृत्वमा यो वर्ष रोटरीले सेवाका नयाँ उचाइहरू चुम्नेछ,’ उनले भने।
साथै, प्रमुख अतिथि रोटेरियन बासुदेव गोल्यानले नवनियुक्त डिस्ट्रिक्ट गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्पूर्ण रोटेरियनहरूलाई नयाँ उत्साह, ऊर्जा र साझा उद्देश्यका साथ अघि बढ्न आह्वान गरेका छन्।