आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक भन्दै प्रहरीको पोशाक लगाएको तस्बिर देखाई विभिन्न आश्वासन दिएर ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इलाम, इलाम नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्दै आएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार बोहोराले आफू प्रहरी भएको विश्वास दिलाउँदै पीडितलाई झुक्यानमा पारी पटक–पटक आफ्नो ईसेवा तथा मोबाइल बैंकिङ खातामा गरी कुल १५ लाख ५० हजार रुपैयाँ जम्मा गराएकी थिइन्। उक्त रकम ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) मार्फत लिएको आरोप प्रहरीले लगाएको छ।
उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार काठमाडौं महानगरपालिका–२६ गोंगबु क्षेत्रबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए।
पक्राउ परेकी बोहोरालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
यस घटनामा ठगी मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।