कैलाली प्रहरीले २० वर्ष कैद तोकिएका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ।
टीकापुर नगरपालिका – १ बनगाउँका ४५ वर्षीय धनबहादुर घर्ती मगर शुक्रबार पक्राउ परेका हुन्।
कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनी घरबाटै पक्राउ परेका हुन्।
कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतले २०५६/१२/१३ गते मगरलाई २० वर्ष कैदको फैसला सुनाएको थियो।
जेल चलान भएका उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट भागेका थिए।
तत्कालीन नेकपा माओवादीले आक्रमण गरेको मौकामा उनी जेल तोडेर भागेका थिए।
पक्राउपछि मगरलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागारमा चलान गरिएको प्रहरीले जनाएको छ।