कैलालीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
जिल्लाको धनगडी उपमहानगरपालिका– ३ बोराडाडी चोकमा आइतबार राति पौने १० बजे धनगढी चौराहाबाट अत्तरिया तर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएको थियो।
यूपी ६५ इएक्स ०१०० भारतीय नम्बर प्लेटको कार पछाडिबाट ठक्कर दिएपछि मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका –१ गजकोटका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको हो।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार चन्दको उपचारका क्रममा राति पौने ११ बजेतिर माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।
उनको शव पोस्टमर्टमका लागि राति पौने १ बजे सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो।
त्यो दुर्घटनामा परी मोटरसाइकल चालक धनगडी उपमहानगरपालिका– ३ का ४३ वर्षीय गौतम ऐर घाइते भएका छन्। दुर्घटनापछि घाइते मोटरसाइकल चालक पनि फरार थिए ।
सोमबार बिहान साढे चार बजे ऐर सिपी अस्पताल धनगढीमा उपचारत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको बाहिर देखिने चोट र टाउको र खुट्टामा भित्री चोट रहे पनि अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकललाई ठक्कर दिएपछि भागेको भारतीय नम्बर प्लेटको कारको खोजीका लागि घटना लगत्तै अस्थायी प्रहरी पोस्ट चटकपुर बाट प्रहरी सहायक निरीक्षक डबलबहादुर साउदको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
कार फेला पर्न नसकेपछि कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्द सोमबार बिहान सवा १ बजेतिर आफै खोजीमा निस्किएका थिए।
एसपी चन्द नेतृत्वको टोलीले ठक्कर दिएर भागेको कारका चालक भारतको उत्तर प्रदेश वाराणसीका ४२ वर्षीय अश्वनीकुमार सिंहसहित ठक्कर दिने कार जिल्लाको गोदावरी नगरपालिका– ६ लालपुरमा फेला पारी नियन्त्रणमा लिएको थियो।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।