गण्डकी प्रदेशमा मुटु रोगको रोकथाम, समयमै उपचार र गुणस्तरीय कार्डियाक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित 'गण्डकी मुटु सम्मेलन–२०२६' सम्पन्न भएको छ।
हेल्दी हर्ट नेपालको आयोजनामा सम्पन्न सम्मेलनले मुटु स्वास्थ्यलाई प्रदेशको प्राथमिक जनस्वास्थ्य एजेन्डाका रूपमा स्थापित गर्न महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।
सम्मेलनको उद्घाटनमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुटु रोगको बढ्दो चुनौतीलाई समयमै सम्बोधन गर्न सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र र समुदायबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. सूर्य देवकोटाले मुटु रोगविरुद्धको अभियान अस्पतालभित्र मात्र सीमित नरही समुदायसम्म पुग्नुपर्नेमा जोड दिए।
उनले रोकथाम नै उपचारको पहिलो आधार भन्ने अवधारणालाई व्यवहारमा उतार्न नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै निदान र सहज उपचार सेवाको विस्तार अपरिहार्य रहेको बताए।
सम्मेलनमा गण्डकी प्रदेशमा मुटु रोगको वर्तमान अवस्था, उपचारमा बिरामीहरूले भोगिरहेका चुनौती, आपत्कालीन कार्डियाक सेवा, जोखिम न्यूनीकरण, आधुनिक कार्डियाक इन्टरभेन्सन तथा भविष्यका सम्भावनाबारे विज्ञहरूले विस्तृत प्रस्तुति दिएका थिए।
साथै प्रदेशभर प्रभावकारी कार्डियाक सेवा विस्तारका लागि आवश्यक नीति, पूर्वाधार, दक्ष जनशक्ति उत्पादन तथा बहुपक्षीय सहकार्यका विषयमा गहन छलफल गरिएको थियो।
सम्मेलनले 'गण्डकी मुटु सम्मेलन–२०२६ : कार्यान्वयनयोग्य न्यूनतम साझा प्रतिबद्धता' समेत सार्वजनिक गर्दै मुटु रोगलाई गम्भीर जनस्वास्थ्य संकटका रूपमा स्वीकार गरी यसको रोकथाम, उपचार तथा
व्यवस्थापनमा सबै सरोकारवालाको साझा प्रतिबद्धता व्यक्त गरेको छ। विद्यमान स्वास्थ्य पूर्वाधारलाई थप सुदृढ बनाउँदै सहकार्यका माध्यमबाट प्रदेशभर आधुनिक र पहुँचयोग्य मुटु उपचार सेवा विस्तार गर्ने निर्णयसमेत गरेको छ।
सम्मेलनमा सहभागीहरूले पोखरालाई अत्याधुनिक कार्डियाक उपचारको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न जोड दिएका थिए।