बाजुरामा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी नौ जना घाइते भएका छन्।
दुर्घटनामा परी हिमाली गाउँपालिका–२ नातिखोलाका २५ वर्षीय चालक जनविर बुढा, सोही वडाका ४० वर्षीय धर्मलाल बुढा, २९ वर्षीया मिजरा बुढा र हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका – ५ का ४५ वर्षीय अमरसिंह बुढा घाइते छन्।
घाइते चारै जनाको अवस्था मध्यम रहेको बाजुरा प्रहरीले जनाएको छ।
दुर्घटनाका अन्य पाँच जना घाइते हिमाली–२ की २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, वर्षीय गोखर रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुष्मा बुढाको अवस्था भने सामान्य छ।
बाजुराको हिमाली गाउँपालिका–५ क्युडीको भित्री सडक खण्ड धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८१७ नम्बरको जिप दिउँसो सवा १ बजेतिर दुर्घटनामा परेको थियो। जिप माथिल्लो मोडबाट अन्दाजी १० मिटर तलको मोडमा खसेको थियो। घाइतेको क्युडी आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको छ।
घाइतेलाई अस्पताल पठाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।