भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थल घ्याम्पे डाँडामा जन्मदिनको पार्टी मनाउने क्रममा भएको कुटाकुटमा गम्भीर घाइते भएका एक युवकको उपचार क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २६-२७ वर्षीय राज कार्की छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक कार्कीका अनुसार सोमबार मध्यरातमा करिब २ बजेतिर घ्याम्पे डाँडामा साथीहरूसँग जन्मदिनको पार्टी चलिरहेको थियो। सोही आपसमा विवाद सुरू भएको थियो।
झगडाका क्रममा गम्भीर घाइते भएका कार्कीलाई तत्काल उपचारका लागि मध्यपुर अस्पताल, ठिमी लगिएको थियो। तर उपचारकै क्रममा राति ३:१५ बजे उनको मृत्यु भएको डिएसपी कार्कीले जानकारी दिए।
'राजको मृत्यु भएपछि अनुसन्धानका लागि पार्टीमा सहभागी र आसपासका २७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं,' डिएसपी कार्कीले भने।
अहिलेसम्म औपचारिक रूपमा कसैलाई पक्राउ नगरिए पनि घटनाको सत्यतथ्य बुझ्न र झगडामा कस-कसको संलग्नता थियो भन्ने खुलाउन २७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए।