सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच १० औं द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरू भएको छ।
सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय तथा सहकार्य बढाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नेतृत्व गरेको प्रतिनिधिमण्डल सहभागी छ। त्यसैगरी, भारतीय पक्षबाट सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नापी विभाग र नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरूको सहभागिता छ।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार रोकथाम, अवैध हातहतियारको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा छलफल हुनेछ।
त्यसैगरी, दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार गर्ने, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने र विपद् तथा महामारीको जोखिम न्यूनीकरणका लागि समन्वय बढाउने विषयमा पनि छलफल हुनेछ।
नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकको अवैध आवागमन हुन नदिन आवश्यक उपाय अपनाउने, सीमा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढाउने, विपद् व्यवस्थापनमा सहकार्य गर्ने तथा सीमा नाकामा यात्रुका लागि सहायता कक्ष स्थापना गर्ने विषय पनि बैठकको एजेन्डामा छन्।
दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, नियमित सम्पर्क र संस्थागत सहकार्य बढाउने तथा सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ गर्ने विषयमा समेत छलफल हुनेछ।
बैठकले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।