बाजुरामा सोमबार दिउँसो भएको जिप दुर्घटनामा घाइते ९ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
बेलुकी साढे ७ बजेतिर हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढाको उपचारका क्रममा कोल्टी आधारभूत अस्पताल, बाजुरामा मृत्यु भएको बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले सेतोपाटीलाई बताए।
दुर्घटनाका घाइतेमध्ये हिमाली गाउँपालिका–२, नातिखोलाका चालक २५ वर्षीय जनविर बुढा र २९ वर्षीया मिजरा बुढालाई बढी चोटपटक लागेको छ।
उनीहरूको कोल्टी आधारभूत अस्पतालमा उपचार जारी रहेको प्रहरी निरीक्षक शाहीले बताए।
दुर्घटनाका अन्य पाँच जना घाइते हिमाली गाउँपालिका–२ की २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुष्मा बुढाको अवस्था भने सामान्य रहेको शाहीले जानकारी दिए।
बाजुराको हिमाली गाउँपालिका–५ क्युडीको भित्री सडक खण्ड धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८१७ नम्बरको जिप दिउँसो सवा १ बजेतिर दुर्घटनामा परेको थियो।
जिप माथिल्लो मोडबाट अन्दाजी १० मिटर तलको मोडमा खसेको थियो।
दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।