काठमाडौंको बौद्धगेट नजिकै एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका-६ बौद्ध गेट नजिकै एक जना महिलाले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
काभ्रे घर भई गोकर्णेश्वरको माकलबारी बस्ने २७ वर्षीय सालु गुरूङले आफैंमाथि पेट्रोल छर्केर आगो लगाएकी हुन्।
उनी र उनका श्रीमानले मिलेर खाजा पसल संचालन गर्दै आएका थिए।
श्रीमानसँग विवाद भएपछि उनले खाजा घर पछाडि रहेको पार्किङमा पुगेर शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। श्रीमानले फेला पारेपछि आगो निभाएर सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा लगिएको थियो।
त्यहाँबाट थप उपचारको लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको छाती, अनुहार र दुबै हातमा जलन भएको छ। एसपी भट्टराईका अनुसार उनको शरीरमा आगोले ५० प्रतिशत जलन भएको छ।
घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ।
पछिल्लो समय आत्मदाहकै घटनाले तीन जनाको ज्यान गइसकेको छ।