धनगढीमा प्रतिबन्धित झन्डै २८ लाख मूल्य बराबरका प्लाष्टिक जन्य सामग्री प्रहरीले बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका–२ घर भई वडा नं. ४ मा गणेश ओझाले सञ्चालन गरेको ‘कौशल ट्रेडर्स एण्ड सप्लायर्स’को गोदाममा छापा हानेर २७ लाख ७२ हजार मूल्य बारबरका प्लाष्टिक जन्य सामग्री बरामद गरेको हो।
कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार प्लाष्टिकका झिल्ली, कचौरा, थाल, चम्पा, गिलास गरी पाँच सय २८ बोरा र ४४ वटा काटुन प्लाष्टिक जन्यवस्तु बरामद गरिएको हो।
सोमबार बेलुकी साढे ८ बजेतिर वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक बलराम पाण्डे, सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेटक्वाटरबाट प्रहरी सहायक निरीक्षक रोशन जिसी, नगर प्रहरी, नगरपालिकाका कर्मचारी र भन्सार कार्यालयको संयुक्त टोलीले कौशल ट्रेडर्स एण्ड सप्लायर्स’ बाट ती सामग्री नियन्त्रणमा लिएको थियो।
प्रहरी निरीक्षक विष्टका अनुसार बरामद प्लाष्टिक जन्य सामग्री आवश्यक कारबाहीका लागि धनगढी उपमहानगरपालिकामा पठाइएको छ।